Skip to main content

सीमा नाकाहरुमा बडा दशैंका लागि स्वदेश फर्किनेको लर्को

Submitted by editor on
शिवराज भट्ट
गौरीफन्टा नाका

धनगढी : टाउँकोमा जहान बच्चाका लत्ताकपडाको भारी, केही  घरको सामान सहितको ठूलो पोका टाउकोमा राखेर हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा आईतबार विहान कैलालीको सीमा नाका गौरीफन्टामा पुगे । 

बडा दशैंको मुखमा घरमा बुवा आमा, जहान र बच्चाहरुको पर्खाई थियो होला  तर आधा रकम उनको बाटोमै सकिन थालेको छ । ‘अरु तलब महिना÷महिना घर पठाउथे, तीन महिनाको तलब बोकेर घर आएको बाटोमै आधा सकिएला जस्तो भईसक्यो’ चुनाराले भने । बेंगलोरबाट नेपाली सीमा नाका गौरीफन्टा पुग्न तीन दिन÷तीन रातको अथवा ७२ घण्टा भन्दा बढी बसको यात्रा गर्नुपर्छ ।

‘गौरीफन्टा नाकाबाट नेपाल टेक्दा सम्म ८ हजार भारु (नेपाली रु १२ हजार ८ सय) खर्च भयो । अझ दार्चुला पुग्नु छ, तीन हजार त्याँ पुग्दा पनि लाग्छ । भनेपछि घर पुग्दा सम्म आधा तलब सकिन्छ जस्तो छ’  दशैंको उमंग र परिवारसँगको भेटको झल्को दिने गरी मुस्कुराउदै चुनाराले भने ।

श्यामको मात्रै होईन, भारतबाट स्वदेश फर्किने हरेक नेपालीको यस्तै नियती छ । सुदूरपश्चिमका चार वटा मुख्य नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट धेरै नेपालीहरु दशैं मनाउन घर फर्किका छन । दशैंका बेला घर फर्किने नेपालीहरुको संख्या बढी हुने भएकाले सवारी धनी, बाटोमा खाना खाने होटल र सीमा नाकामा भारतीय सुरक्षाकर्मीको हरेक वर्षको दशैंमा यस्तै ब्यवहार देखिदै आएको छ ।

‘बसको टीकटमा पनपरि छ । खाना खान रोकेको ठाउँमा पनि सामान्य खानाको तीन÷चार सय भारु भनेर लुटने गरिएको छ । खाना पनि बासी जस्तै । नेपालमा रोजगार नभएकाले यस्तो नीयती भोग्नु परेको नी’ दार्चुलाकै शिवराज भट्टले भने । ‘नेपालमा रोजगार पाउने भए किन हामीहरु भारत जान्थ्यौं र ?’

कैलालीको बर्दगोरिया गाउपालिका मुडा भन्ने स्थानका विजय सुनार पनि सोमबार गौरीफन्टा नाकामा भेटिए । गत वर्षको मंसिरमा भारतको महाराष्ट्र राज्यमा पर्ने पुनाबाट दशैंका लागि फर्किका उनको मुहारमा उमंग थियो । ‘घरमा साना भाई बहिनिहरु छन, उनीहरुको पढाई खर्चका लागि १० कक्षा छोडेर भारत गएका हुँ । तर कमाएको जति रकम बाटोमै सकिन थालेको छ’ निरास हुदै उनले भने ।

तर विजयको मुहारमा केही चमक देखिन्थ्यो । ‘दशैंमा साथीभाई, आमाबुवा र आफन्तसँग भेटघाट हुन्छ । बुवा आमाको हातबाट टीका जमरा लगाउन सधैं काँ पाईन्छ, खर्च भएपनि दशैंमा रमाईलो गर्न स्वदेश फर्केको’ नेपाल तर्फ बसमा बसिसकेका उनले भने । ‘नेपालमा केही रोजगार पाईथ्यो भने हामी किन अर्काको देशमा मजदूरी गर्न जानुपथ्यौ र ?’

सुदूरपश्चिममा भण्डै २७ लाख जनसंख्या छ । त्यसको ३० प्रतिसत अथवा ८ लाख भन्दा बढी मानिसहरु कामका लागि भारत जाने गर्छन । केही पढेलेखेका युवाहरुका लागि भारतको मुम्बई, बेंगलोर र राजधानी नयाँदिल्ली जस्ता ठुला शहरहरु जागीरका गन्तब्य हुन भने उत्तराखण्ड राज्य र उत्तरप्रदेशमा पनि ठुलो संख्यामा नेपालीहरु काममा लागि जाने गरेका छन । 

त्यसमध्ये अधिकांस दशैं तिहारका लागि घर फर्किने गरेकाले सीमा नामामा भिडभाड भएको हो । मनमा दशैंको उमंग बोकेर आएकाहरु बाटोको सकस र भारतीय सुरक्षाकर्मीहरुको सकसले परेसान हुने गरेका छन । ‘बाटोमा सारै सकस छ । नेपाली भनेर हेपेर बोल्ने, खाने ठाउँमा पनि मनपरि रुपमा पैसा लिने, सीमा नाकामा पनि तीन÷चार ठाउँमा भारत र त्यो भन्दा पनि बढी ठाउँमा नेपाल पुगेर चेकिंङ हुने गरेकाले पनि सकस हुने गरेका छ’ भारतको मुम्बईबाट दशैंका लागि फर्केका कैलालीको गौरीगंगा नगरपालिकाका दिपक जैगडीले भने । 

घटस्थापना देखि नै भारतबाट स्वदेश फर्किने नेपालीहरुको चाप बढन थालेको हो । गौरीफन्टा नाकामा रहेको शसस्त्र प्रहरीको तथ्यांक अनुुसार उक्त नाकाबाट घटस्थापना यतामात्रै सोमबार सम्म १३ हजार नेपालीहरु घर फर्किसकेका छन । यस्तै कञ्चनपुरको गड्डाचौकी, झुलाघाट र दार्चुलाको सीमा नाकाबाट पनि यस्को दोब्बर संख्यामा नेपालीहरु स्वदेश फर्किका छन ।

अझै दशैं आउन एक हप्ता छ । छोटो विदा पाएकाहरु अझै अष्टमी नवमी सम्म पनि टीकाला लागि भन्दै स्वदेश फर्किने क्रम जारी रहनेछ । नेपालको दशैं र तिहार, सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीहरुका लागि पनि अवैध असुली गर्ने मुख्य धन्दा भएको छ । घटस्थापना देखि स्पदेश फर्किने नेपालीबट रकम असुली हुन थालेको थियो ।

‘यो समाचार मिडियामा आएपछि हामीले काउन्टरपार्टसँग कुराकानी गरेका छौं, अहिले अवैध असुली रोकिएको छ’ कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने । ‘सशस्त्र र नेपाल प्रहरीका एसपी सापहरुलाई नै मैले सीमा क्षेत्रमा खटाएको छु।’ भारतीय कष्टमकर्मीहरुले नेपालीहरुबाट रकम उठाउन थालेको खबर आएपछि नेपाली प्रशासनले त्यसको जानकारी काउन्टरपार्टलाई गराएपछि एक÷दुई दिन देखि भने केही रोकिएको छ ।