Skip to main content

धनगढीको पार्कमोडमा हुने शनिबारे मेलामा अब सांस्कृतिक कार्यक्रम पनि

Submitted by editor on
मेलामा बालबालिकाहरूका लागि प्लेस्टेसन राखिने भएको छ भने मेलालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै विभिन्न विद्यालयका विद्यार्थी र स्थानीय कलाकारको प्रस्तुति राखिने भएको छ ।
ईबिगुल संवाददाता
 शनिबारे मेला

धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले सुरु गरेको शनिबारे मेलामा अब सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिकाले नगरबासीको माग अनुसार भोली देखि सांस्कृतिक कार्यक्रम पनि हुने जनाएको छ ।  

मंसिर महिनाको पहिलो शनिबारबाट धनगढीको पार्क मोडमा घरमै बसेका महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले शनिबारे मेलाको आयोजना गरिएको थियो । उपमहानगरपालिकाले ६० वटा स्टलमा २ लाखको कारोबार भएको जनाएको छ ।

शनिबारे मेला हरेक शनिबारको दिउसो २ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र आयोजना गरिएको हो ।  मेलामा सुदूरपश्चिमका राना थारु, डँगौरा थारु, नेवार समुदाय र पहाडि समुदायका परिकारहरु राखिएका थिए । पहिलो दिनको मेलामा नेवारी खाजा देखि थारुका परिकार डिकरी, गंगटाको मासु, लोकल कुकुराका परिकार, घोंगी, पहाडि समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरु राखिएका थिए । 

मेलामा महिला उद्यमीहरुले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका सामान, कपडा, दुना टपरी, फाईबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षण रहेका छन । 

सीप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्देश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले बताए । 

धनगढी उपमहानगरपालिकाले धनगढीमा युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्नेतयारी गरेको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरू लक्षित गरी कमाउदै पढदै अभियान अन्तर्गत साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरले जनाएको छ । 

शनिवार अर्थात् मंसिर ८ गते लाग्ने दोस्रो मेलामा बालबालिकाले खेल्न मिल्ने प्लेस्टेसन समेत राखिने भएको छ । धनगढी उपमहानगरपालिकाले मङ्सिर १ गतेदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलालाई थप व्यवस्थित र परिष्कृत गर्ने भएको हो । 

मङ्सिर ८ गते शनिवार लाग्ने महिला उद्यमी मेलामा सांस्कृतिक कार्यक्रम देखाइने भएको छ । मेलामा बालबालिकाहरूका लागि प्लेस्टेसन राखिने भएको छ भने मेलालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै विभिन्न विद्यालयका विद्यार्थी र स्थानीय कलाकारको प्रस्तुति राखिने भएको छ ।

हातमा सिप भएका तर, अहिलसम्म पसल थापेर व्यापार नगरेका महिलाहरूलाई व्यवसायमा उतार्न मेला आयोजना गरिएको हो । हरेक शनिवार लाग्ने मेलामा सहभागी हुने महिलाहरूलाई विस्तारै पूर्णकालीन व्यवसायी बनाउने लक्ष्य रहेको नगर प्रमुख गोपाल हमालले बताए ।