धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले सुरु गरेको शनिबारे मेलामा आज देखि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।
मंसिर महिनाको पहिलो शनिबारबाट धनगढीको पार्क मोडमा घरमै बसेका महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले शनिबारे मेलाको आयोजना गरिएको थियो । यस हप्ताको कारोबारको विवरण नआएपनि उपमहानगरपालिकाले राखेका ५६ वटा स्टलबाट गतहप्ता २ लाखको कारोबार भएको थियो ।
शनिबारे मेला हरेक शनिबारको दिउसो २ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना गरिएको हो । मेलामा सुदूरपश्चिमका राना थारु, डँगौरा थारु, नेवार समुदाय र पहाडि समुदायका परिकारहरु राखिएका छन । मेलामा नेवारी खाजा देखि थारुका परिकार ढिकरी, गंगटाको मासु, लोकल कुकुराका परिकार, घोंगी, पहाडि समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरु राखिएका छन ।
मेलामा महिला उद्यमीहरुले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका सामान, कपडा, दुना टपरी, फाईबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षण रहेका छन ।
सीप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्देश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।
कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलामा धनगढी–८ की उमादेवीले सेल रोटी र पकौडाको स्टल राखेकी थिइन् ।
घरमै समय बिताउने उमादेवी शनिवारे मेलाका कारण आफ्नो आम्दानीको बाटो खुलेकोमा उत्साहित थिइन् । मोहनपुरकी उमा तामाङले शनिवारे मेलामा अचारको स्टल राखेकी थिइन् ।
मेलाका कारण अचार बनाउने उत्साह बढेको र मेला हप्तामा दुई दिन लगाए महिलाले आम्दानी गर्न थप सहज हुने तामाङको सुझाव छ ।
मेलामा विभिन्न परम्परागत खाना तथा खाजाको परिकार बनाउन जान्ने महिलाका लागि आम्दानीको बाटो खुलेको मेलामा आएका उद्यमी महिलाको तर्क छ । महिलाहरूले समूहमा मिलेर समेत स्टल राखेका थिए । यस्तै मेलामा भएको सांस्कृतिक प्रतियोगिता भाग लिनआएका विद्यालयका बालबालिका समेत निकै खुसी देखिन्थे ।
धनगढी–१६ बेहडाबाबा माध्यमिक विद्यालयका छात्राहरूले पहिलो चोटी मेलामा आएको तथा निकै रमाइलो लागेको बताए । नृत्य देखाउन बेहडाबाबा विद्यालयबाट छात्राहरुको दुई समूह आएको थियो । धनगढीका १० वटा विद्यालयका विद्यार्थीहरूले नृत्य प्रतियोगितामा भाग लिएका थिए ।
नृत्य प्रतियोगितामा १० वटा विद्यालयका बालबालिकाले भाग लिएका थिए । प्रतियोगितामा धनगढी–८ को एरिष्टो माध्यमिक विद्यालय प्रथम, धनगढी–१२ को मिलन माध्यमिक विद्यालय द्वितीय, धनगढी–५ को शैलेश्वरी माध्यमिक विद्यालय तृतीय तथा धनगढी–२ को शारदा माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार पाएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगर पुरस्कार प्रदान गरिएको छ ।