Skip to main content

भाइरल बालगायक सचिन परियारको निधन

Submitted by editor on
ईबिगुल संवाददाता
बालगायक सचिन परियार


काठमाडौँ : बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो ।

उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले  जानकारी दिए । ‘सिभियर निमोनिया’का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो । सचिनको शव अस्पतालबाट निकालिएको छैन ।  उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए । उनी १३ वर्षका थिए । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।