Skip to main content

छोरा नछुटेपछि झन पिडामा बिपिनको परिवार

Submitted by editor on
महादेव अवस्थी
आमाको आखा

महेन्द्रनगर : आमाको आखा रसाएकै थिए, तर आँखामा छोरा आउने आश कायमै थियो । बुवा आँगनमा टोलाएझैं बसिरहेका थिए । बहिनी पुष्पा त दाजुको बारेमा सोध्ने वित्तिकै भक्कानीईन ।

१५ महिना देखि हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको परिवारको अवस्था हो । छोराको खासै खबर केही आउदैन, धाउन सम्मका सबै निकाय धाईसके उनीहरुले । तर कसैले पनि विपिनको हालको अवस्था के छ भन्ने सकेका छैनन ? 

सोमबार हमासले ३४ जना बन्दीहरुलाई रिहाई गर्ने समाचार आएपछि विपिनका परिवारका सदस्यहरुको आँखा संसारभरीका समाचारमा केन्द्रित थियो । केही सञ्चार माध्यमले विपिनको के हुन्छ ? भनेर कौतुहताका समाचार लेखिरहेका बेला परिवारका सस्यहरुमा आशाका किरणहरु जाग्थे तर अन्तत हमासले रिहा गरेका ३४ जनाभीत्र विपिनको नाम नदेखेपछि परिवार झन पिडामा छ ।

कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन् । उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।

कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुईजना भने सकुशल थिए ।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए ।

तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत ईजरायल पुगेका छोरा विपिन संग सम्पर्क टुटेको ४ सय ३४ दिन भइसकेको परिवारका सदस्यले बताएका छन ।

बुवाआमा मोबाईलमा समाचार हेर्दै विपिनको सुःखद खबरको आशामा छन । विपिनको पर्खाइमा बसेको १५ महिना पुरा भइसकेको छ । ‘मनमा एउटै कुरा बारम्बार खेलीरहन्छ, छोरासंग कहिले भेट होला । १५ महिनादेखी हमासको कब्जामा रहेका छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार ?’ आमा पदमाले भनिन ।

‘जे उपाय गरेर हुन्छ, मेरो छोरालाई सकुशल ल्याउन सरकारले पहल गरिदेओस ।’  छोराको रिहाइका लागि उनको परिवारले नभेटेको कसैलाई छैन । मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री राजदुत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन । तर हामी पहल गरिरहेका छौ बाहेकको जवाफ उनीहरुले पाउन सकेका छैनन । 

‘अहिलेसम्म अन्य देशका नागरिकहरु धेरै छुटिसके’ आमा पदमाले भनिन । ‘हाम्रो सरकारको पहल नपुगेको हो कि ?’ युद्धविराम हुने समाचार सुनेका उनी अब त छोराको रिहाइ होलाकि भन्ने आशामा थिइन तर आईतबार हमासले छोड्ने ३४ जनाको लिस्टमा विपिनको नाम समावेश नभएको समाचार सुनेपछि उनको निराशा झन बढेको छ ।

डेढ वर्ष बितिसक्दा पनि विपिनको अवस्थाबारे केही थाहा पाउन सकिएको छैन । छोराको अवस्थाबारे बेखबर उनका बुवा आमाले भिमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन । 

विपिनलाई आफुतिर ग्रिनेट फालेको भन्दै हमास समूहले इजरेलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो । त्यसयता  विपिनको अवस्था अज्ञात छ ।  अध्ययनसँगै कमाइ गर्ने कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए ।

त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । ‘अब छुट्ला अब छुट्ला भन्ने आशामै १५ महिना बितिसके, मनको कुनै कुनामा आशा बाँकी नै छ’ बुबा महानन्दले भने ।

उनले कात्र्तिकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि भेटेका थिए । कतारका राजा आमिर तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए ।

अस्थायी युद्धविरामका बेला हमासले विभिन्न चरणमा बन्धकलाई मुक्त गर्दा विपिन भने पर्न सकेका छैनन । ‘जुन देशले बढी पहल ग¥यो, उसले त्यही देशका नागरिक पहिला रिहा गर्ने हो’ बुबाु महानन्दले भने । ‘नेपाल सरकारले कतारसँगै बढी पहल गर्नुपर्छ । सरकारले कतारसँग कूटनीतिक रूपमा बढि जोड गर्न सके मात्रै विपिन रिहा हुन्छन ।’


विपिन जोशी सम्पर्क विहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए । जिल्लाकै मन्त्री भएका कारण पनि विपिनलाई चाँडै मुक्त गराउन पहल हुने आशा जोशी परिवारमा थियो तर डेढ वर्ष बित्दा पनि उनको अवस्था फेरिएन । 

अहिले पनि यही क्षेत्रको सांसद रमेश लेखक गृहमन्त्री छन । सुदूरपश्चिमकै देउवा पत्नी अरजु राणा परराष्ट्रमन्त्री छन । यी सबैलाइ भेटेरै विपिनको रिहाईका लागि पहल गरिदिन जोशी परिवारले आग्रह गरिसकेका छन ।

परिवारको जिवितै हुने आशा कायमै
सन् २०२३ को डिसेम्बरदेखि विपिन जोशीको अवस्था अज्ञात छ । ‘विपिनका बारेमा डिसेम्बरयता खासै प्रमाण केही भेटिएको छैन । २०२३ को नोभेम्बरमा उनी जीवित रहेको भिडिओ फुटेज यहाँको गुप्तचर र आईडीएफ (इजरेल डिफेन्स फोर्सेस) सँग छ । 

सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो । अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले बताएका थिए ।

त्यसपछि इजरेलले हमासको केन्द्र भएको आरोपमा अल शिफा अस्पतालमाथि पनि आक्रमण गरेको थियो । ईजरेलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले त्यही समय आसपासमा एउटा बंकरमा पनि हमासले अन्तर्वार्ता लिँदा जोशी बोलेको भिडिओ आफूहरूले पाएको इजरेली पक्षले आफूलाई जानकारी दिएका थिए । 

अझैसम्म हमासको नियन्त्रणमा रहेका करिब १०० जनाको अवस्था इजरेलको सरकारलाई पनि थाहा नभएको नेपाली दूतावासले जनाएको छ ।

सरकारको पहल नपुगेको गुनासो
सोमबार मात्रै विपिन जन्मदिन थियो । परिवार र आफन्तले उनको तस्बिर समाजिक सञ्जालमा राख्दै जन्मदिनको शुभकामना दिदै सकुशल रिहाईका लागि अनुनय गरेका छन । 

विपिनको परिवार छोरा आउनेमा अझै पनि आशावादी छ । तर सरकारको तर्फबाट पहल हुन सकेनको उनीहरुको गुनासो छ । ‘अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ’ आमा पदमाले भनिन । ‘सरकारले पहल गरिदियो भने चाँडै आउने थियो होला ।’

अन्य मुलुकहरुले आफ्ना देशका नागरिकहरुलाई रिहाई गरिसक्दा नेपालले एक जना रिहा गर्न नसकेको परिवारको गुनासो छ । विपिनका दाजु किशोर पनि नेपालको पहल नपुगेको बताउँछन । ‘हामीले भेट्न बाकी मन्त्री प्रधानमन्त्री कोहि छैन, सबैले प्रयास भइरहेको छ भन्नुहुन्छ’ उनले भन े । ‘युद्धविराम हुदाँ अन्य देशका नागरिकहरु छुट्दैछन हाम्रो चाहिँ पहल नै पुगेन जस्तो लागेको छ ।’