Skip to main content

कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा ११ सय २३ जलपंक्षी फेला

Submitted by editor on
ईबिगुल संवाददाता
जलपंक्षी फेला

धनगढी : कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा एक हजार एक सय २३ जलपंक्षी फेला परेका छन । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा हिउँदे जलपंक्षी गणना गरिएको हो ।

नेपाल पंक्षीविद् संघको अगुवाइमा घोडाघोडी सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले गणना कार्यको संयोजन गरेका छन् । मङ्गलवारदेखि गणना सुरु भएको थियो। सिमसार क्षेत्र घोडाघोडी ताल, नगकरोड ताल लगायत वरपरका तालतलैयामा तीनदिनसम्म जलपंक्षी गणना गरिएको जनाउँदै नेटवर्कका अध्यक्ष चौधरीले एक हजार १२३ सङ्ख्यामा जलपंक्षीको गणना गरिएको बताए । 

उनले गणनामा समेटिएका चराहरूमध्ये २६ प्रजातिका जलपंक्षी रहेकोसमेत उल्लेख गरे। चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी पहिलो दिन घोडाघोडी ताललाई तीन भागमा छुट्याएर तीन समूहले जलपंक्षी गणना गर्ने कार्य गरेको बताए। दोस्रो र तेस्रो दिन घोडाघोडी सिमसार क्षेत्रकै अन्य तालतलैयामा जलपंक्षी गणना कार्य सकेको हो। घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीताल लगायत २४ वटा ताल तलैया छन ।

घोडाघोडीमा ३८२ प्रजातिका चरा रहेको र त्यसमध्ये ७४ प्रजातिका जलपंक्षी रहेको तथ्याङ्कमा उल्लेख छ। जाडो र गर्मी समयमा घोडाघोडीमा चरा गणना हुने गर्दछ। गत वर्ष घोडाघोडी क्षेत्रमा एक हजार २३१ जलपंक्षी गणना हुँदा दुई नयाँ प्रजातिका चरा भेटीकोसमेत रेर्कडमा उल्लेख छ ।