धनगढीः अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का २५ वर्षीय भुवन कार्की पक्राउ परेका छन् । कार्कीलाई सोमवार काठमाडौं–१२ बाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कार्कीले अमेरिका पठाइदिने प्रलोभनमा बेरोजगार युवा–युवतीहरूसँग एक करोड भन्दा बढी रकम ठगी गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आकर्षक रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो । कार्कीले संकलित रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी गर्न पुगेका थिए । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली पठाइएको छ ।