Skip to main content

बझाङका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारमा मुद्दा

Submitted by editor on
ईबिगुल संवाददाता
अख्तियार

बझाङः बझाङका एक शिक्षकविरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको छ ।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका स्थित जालपा माध्यमिक विद्यालयमा कार्यरत शिक्षकमाथि मुद्दा दायर गरिएको  हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार जालपा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दीपक बोहरामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार, बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बोहराले जयपृथ्वी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बझाङमा सहायक शिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको प्लस टु तहको लब्धाङ्क पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ ।

उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी लिई बुधवार विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।