बैतडीः बैतडीमा दुई बालिकामाथि करणी भएको खुलासा भएको छ।
जिल्लाको मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा मेलौलीकै २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ। ती पुरुषले बालिकामाथि २०८० असार र कार्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतवार पक्राउ गरेको हो। पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ।
यस्तै शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ती पुरुषले ललाईफकाई गरेर गत माघमा बालिकामाथि करणी गरेको जाहेरीको आधारमा उनलाई आइतवार पक्राउ गरिएको हो। घटना कसरी बाहिरीयो भन्ने बिषयमा प्रहरीले अनुसन्धानपछि मात्र जानकारी दिइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भइसकेको बडूले जानकारी दिए। दुवै घटना अनुसन्धानमा रहेको र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले नामसहितको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।