धनगढी : निजी जग्गामै पनि नदीजन्य पदार्थ स्टोर (भण्डार) गर्न अनुमति लिनुपर्ने प्रावधान भए पनि कैलालीको गोदावरीमा भने आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै आएको छ । नदीजन्य पदार्थको सङ्कलन गर्ने खोला किनार, वन, सडक किनारामा नदीजन्य पदार्थ स्टोर गरेर राख्न नपाइने भए पनि यहाँ खुलेआम अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गरिँदै आएको हो ।
अत्तरियाबाट गोदावरी नगरपालिका जाने बाटो छेउमै दुर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्ग छेउमा नदीजन्य पदार्थ बालुवा, ढुङ्गा स्टोर गरिएको छ । तर, यसरी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थको स्टोर हुँदा कसले राखेको भन्ने बारेमा समेत सरोकारवाला निकायलाई जानकारी छैन ।
दुर्गालक्ष्मी सामुदायिक वनकी अध्यक्ष शिवा कडायतले कसले वनमा बालुवा, ढुङ्गा राखेको भन्ने बारेमा जानकारी नभएको बताइन् । उनले रातीको समयमा कसैले राखेको हुन सक्ने बताइन् । उनले भनिन् ‘कसले राखेको भन्ने नै थाहा छैन ।
स्थानीयले भने रातीको समयमै वनमा बालुवा ढुङ्गा स्टोर गर्ने गरिएको र, नदीजन्य पदार्थको सङ्कलन बन्द भएपछि महँगोमा बिक्री गर्ने गरिएको बताए । सबै काम रातीको समयमा हुने स्थानीयको भनाइ छ । ‘गत वर्ष देखि नै यो ठाउँमा ट्याक्टर व्यवसायीले बालुवा ढुङ्गा स्टोर गरेर राख्दै आएका छन्’ एक स्थानीयले भने ‘यहीबाट बर्खाको सिजनमा बिक्री हुने गरेको छ ।’
स्टोर गर्ने र बिक्री गर्ने काम रातीको समयमा भए पनि नगरपालिका जाने बाटो छेउमै पर्ने उक्त अवैध नदीजन्य पदार्थ हटाउने वा कारबाही गर्ने बारेमा भने जनप्रतिनिधिले वास्ता गरेका छैनन् ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले वन र सडक छेउमा स्टोर गर्न नपाइने बताइन् । उनले कसले सडक किनारामा राखेको भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् । गोदावरीमा पूर्व पश्चिम राजमार्ग छेउमा पनि अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गर्ने गरिएको छ ।
गोदावरी नगरपालिका ३ चौकिडाँडामा क्षेत्रमा बर्सेनि सडक किनारामा अवैध रूपमा नदीजन्य पदार्थको स्टोर गरिँदै आएको भए पनि पालिकाले कारबाही गर्ने सूचना बाहेक कुनै एक्सन लिएको देखिदैन् । जसले गर्दा केही सीमित, ट्याक्टर व्यवसायी र ठेकेदारले मात्रै सार्वजनिक जग्गामा आफूखुसी भोग चलन गरेर लाभ लिइरहेका छन् ।