धनगढीः सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अवरोध जारी राखेका प्रतिपक्षी दलले मुख्यमन्त्री कमलबहादुर शाहको नैतिकतामाथि प्रश्न उठाएका छन्।
राजीनामा दिइसकेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेनको विवादास्पद अडियोमा मुख्यमन्त्रीसहित पार्टीका नेतासमेत जोडिएका भन्दै प्रतिपक्षीले सदनमै मुख्यमन्त्री शाहमाथि प्रश्न उठाएको हो। दिगो वन व्यवस्थापन विधेयकसँग जोडेर आर्थिक लेनदेनको कुरा गरेको अडियो बाहिरिएको थियो। अडियो बाहिरिएपछि मुख्यमन्त्री शाहको निर्देशनमा शनिवार चौधरीले मन्त्री पदबाट राजीनामा दिएका छन्।
मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिए पनि त्यसमा जोडिएका मुख्यमन्त्री शाहले के गर्नेछन् भन्ने विपक्षी दलले प्रश्न उठाएको छ। आइतवार बसेको प्रदेश सभा बैठकलाई अवरुद्ध गरेका प्रतिपक्षी दलले विधेयक सदनमा नआउँदै ठुलो आर्थिक चलखेल भइरहेको जिकिर गरेका छन्। सभामुख भीमबहादुर भण्डारीले कुरा राख्न समय दिएपछि प्रतिपक्षी दलका तर्फबाट बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य खेमादेवी विष्टले आर्थिक चलखेलको विषयमा मन्त्रीले मात्रै राजीनामा दिएर समस्याको समाधान नहुने बताइन्।
“मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरिए, उनलाई धन्यवाद छ तर नाम जोडिएको मुख्यमन्त्रीले के गर्छन्रु” विष्टले प्रश्न गरिन्। यसै गरी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलसहित प्रदेश सभा सदस्यले विदेश भ्रमण गरेकाबारे पनि प्रतिपक्षीले सरकारको जवाफ माग गरेका छन्। एक हप्ताअगाडि रावलसहित छ जना प्रदेश सभा सदस्यले भारतको उत्तराखण्डको भ्रमण गरेर त्यहाँको मुख्यमन्त्रीलाई भेट गरेका थिए।
उनीहरूको भ्रमणका लागि परराष्ट्र मन्त्रालयको पत्र छ वा छैन भन्दै प्रतिपक्षीले सरकारको जवाफ माग गरेका हुन्। यसै गरी करिब पाँच अर्ब बजेट सुनिश्चित असन्तुलित तरिकाले गरेको प्रतिपक्षीको भनाइ छ। यसलाई मिलाउन आग्रह गरिएको छ। सुशासन, खर्च कटौती, नियमविपरीत सेवासुविधा, राजनीतिक नियुक्तिलगायतका विषय उठाउँदै पछिल्लो समय प्रतिपक्षीले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। विभिन्न विषयमा सरकारको जवाफ माग गर्दै आए पनि प्रदेश सरकारले प्रतिपक्षीको कुरा नसुनेको विष्टले आरोप लगाइन्।