कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो पटक अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । अनेरास्ववियुका र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका अनेरास्ववियुका अशोक गौतम सभापतिमा निर्वाचित भएका हुन् ।
त्रिविअन्तर्गतको उक्त क्याम्पसमा विवाद हुँदा शनिबार मात्रै मतदान भएको थियो । आइतबार सार्वजनिक मत परिणामअनुसार गौतम ६ सय ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४ सय २८ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का प्रवीण सिंह ५ सय ५५ मत ल्याएर विजयी भए ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका भुवनराज जैशीले ४ सय मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । अखिल ९क्रान्तिकारी०की यालिशा कुमारी कुँवर ४ सय १६ मत ल्याइन् । सबै सदस्यहरू पनि अनेरास्ववियुका र नेविसंघको संयुक्त प्यानलबाटै निर्वाचित भएका छन् ।

घोडाघोडी क्याम्पसमा अनेरास्ववियु पहिलो पटक विजयी भएको हो । समानुपातिकमा पनि सबैभन्दा धेरै मत अनेरास्ववियुमा आएको छ। अनेरास्ववियुले ४२४ मत पाउँदा नेविसंघले २५४ अखिल क्रान्तिकारीले ३८९ तथा अखिल समाजवादीले १९ मत प्राप्त गरेकोछ।
२०७३ र २०७९ मा भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)का उम्मेदवार विजयी भएका थिए । २०७३ मा क्रान्तिकारी जीवन बिसी र २०७९ मा प्रेमबहादुर बोगटी स्ववियु सभापतिमा विजयी भएका थिए । त्यसअघि २०६५ मा भएको स्ववियु निर्वाचनमा नेविसंघका चतुर्भुज ओझा सभापतिमा विजयी भएका थिए ।
पछिल्लो निर्वाचनमा कैलाली जिल्लामा अनेरास्ववियुले सभापति जित्न सकेको थिएन । जिल्लामा पहिलो पटक अनेरास्ववियु विजयी भएपछि अब हुने निर्वाचनमा पनि अनेरास्ववियुका विजयी हुने प्रदेश अध्यक्ष मनोज राईले जानकारी दिए । उनले अन्य विद्यालयमा निर्वाचन जित्ने गरि तयारी थालिएका बताए ।
टिकापुर बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसमा आगामी २७ गते निर्वाचन हुँदै छ । दुबै क्याम्पसमा अनेरास्ववियुले विजयी हुने नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले दाबी गरेका छन् । विद्यार्थीहरूको माग सम्बोधन गर्ने गरि स्ववियु निर्वाचनको तयारी भइरहेको भन्दै अनेरास्ववियुको जित सुनिश्चित भएको अध्यक्ष ढुङ्गानाले दाबी गरेका छन् ।