Skip to main content

बैतडी समाजको पुर्चौंडीमा तीन दिने निशुल्क स्वास्थ्य शिविर (फोटोफिचर)

Submitted by editor on
स्वास्थ्य शिविरमा बरिष्ठ नेत्ररोग विषेशज्ञ डाक्टर विद्याप्रसाद पन्तले ९१ जनाको आँखाको मोतियाविन्दको सल्यक्रिया गरेका छन ।
शिवराज भट्ट
महन्त लुहार

पुर्चौंडी (बैतडी) ः जवानीमा आरन चलाएर घर गुजारा चलाएका महन्त लुहारको बाँया आखा बन्द भएको चार वर्ष भयो । आँखा बन्द भएसँगै उनको घरधन्दा चलाउने आरन ब्यवसाय पनि बन्द भयो । ‘आँखा खुलेपछि फेरि आरन चलाउने धोको छ’ उनले भने । 

महन्त लुहारको बसोबास बैतडीको पुर्चौंडी नगरपालिका वडा नम्बर ३ को तोलीगाउँ हो । उनको घरबाट पालिकाको केन्द्र (हाट) आउन ४ घण्टा लाग्छ । पालिकाको केन्द्रमा बैतडी समाजले आयोजना गर्न लागेको निशुल्क स्वास्थ्य शिविरको खबर पाएपछि महन्त श्रीमती हजारी लुहारको सहारामा पुर्चौंडी नगरपालिकाको केन्द्र हाटबजार पुगेका हुन । 

स्वास्थ्य शिविरमा बरिष्ठ नेत्ररोग विषेशज्ञ डाक्टर विद्याप्रसाद पन्तले उनको आँखा खोलिदिएका छन । ‘चारवर्षदेखि मोतियाविन्द रहेछ, अप्रेशन गरेर राम्ररी देख्ने भईसक्नु भयो’ डाक्टर पन्तले भने । बाँयाँ आँखा खुलेपछि महन्तको मुहारमा मुस्कान थियो । ‘अब त आरन चलाउन सक्छु जस्तो लागेको छ’ उनले भने । 

महन्त मात्रै होईन, बैतडी समाज कैलालीले बैतडीको दुर्गममा रहेको पुर्चौंडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ९१ जना जेष्ठ नागरिकको स्थानीय स्वास्थ्य चौकीमै आँखाको सल्यक्रिया गरिएको छ  भने ७१७ जनाले आँखाको परिक्षण गराएका छन । डाक्टर विद्या प्रसाद पन्त गेटा आँखा अस्पतालका पूर्व निर्देशक हुन । उनले एक दिनमा ३५५ सल्यक्रिया गरेको रेकर्ड छ । 

पछिल्लो समय डाक्टर पन्त म्यानमारको गाउँगाउँमा स्वास्थ्य शिविर चलाउदै आएका छन । घरविदामा आएका बेला उनले यस्तै गाउँ गाउँमा शिविर चलाउने गरेका छन । ‘धनगढी गएर अप्रेशन गर्ने अवस्था थिएन, गाउँमै आएर अप्रेशन गरिदिएपछि खुसी भएको छु’ पुर्चौंडी नगरपालिका वडा नम्बर २ का सन्तबहादुर कुवरले भने । ‘एक आँखाले मान्छेको छाया मात्र देख्थे, अब त मान्छे चिन्ने गरी देख्न थालेको छु ।’

पुर्चौंंडी नगरपालिका वडा नम्बर १ गुदडाकी ७० वर्षिया कलसा भण्डारीपनि शिविरमा आएकी थिईन । खुट्टा दुख्ने, खुट्टा तान्न नसक्ने भएकी उनलाई हाडजोर्नी तथा नशारोग विषेशज्ञ डाक्टर नरबहादुर मौनीले चेकजाँच गरे । ‘धनगढी जाने खर्च छैन । गाउँमा यस्तै ठुला ठाक्टर बस्दैनन । औषधी दिएको छ । निको होला भन्ने आशा पलाएको छ’ कलसाले भनिन ।

पुर्चौंडी नगरपालिका वडा नम्बर ८ की ७८ वर्षिया कृष्णा जोशी घरमा कुलदेवताको मन्दिरमा लगाएको सप्ताह यज्ञ छोडेर शिविर पुगिन । ‘घरमा कुलदेवताको सप्ताह थियो । सबैजना सप्ताह यज्ञमा बसेका छन, सञ्चो नभएर हैरान थिए । त्यही भएर कुलदेवताको पुजा छोडेर आए’ उनले भनिन ।

बैतडीबाट कैलाली झरेका नागरिकहरुले गठन गरेको बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका दुर्गम स्थानमा गएर तीनदिने बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । यसअघि उसले बैतडीको पाटन र पञ्चेश्वरमा स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । बैतडीको पुर्चौंडीमा यसपालीको शिविरमा शिविरमा २८ सय ७२ जनाले विषेशज्ञ स्वास्थ्य सेवा लिएका छन ।

पुर्चौंडी ७ ऐरगाउँका ५९ वर्षिय मानसिक ऐर पनि उपचार पछि खुसी भएर घर फर्के । उनले ६ महिना अघि भारतको सितारगञ्जमा पत्थरीको अप्रेशन गरेको रहेछ । ‘पत्थरीको अप्रेशन गरेको थिए । घर आएपछि दुख्न थाल्यो । घाउँमा चरचर हुने, अनी चिन्ता लागेको थियो । एउटा सुई पनि लगाई दियो औषधी पनि दियो’ उनले भने । ऐरलाई बरिष्ठ युरोलोजिष्ट डाक्टर जोनेश तिवारीले चेकजाँच गरेका थिए । 

शिविरमा ७ जना विषेशज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । वरिष्ठ नेत्ररोग विषेशज्ञ डाक्टर विद्या प्रसाद पन्त, फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर नर बहादुर मौनी, स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर रविन्द्र भट्ट, मुटुु रोग विषेशज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विषेशज्ञ डाक्टर सन्तोष कुमार पाण्डे सहितको स्वास्थ्यकर्मीको टोलीले विषेशज्ञ सेवा प्रदान गरेको थियो । 

शिविरमा २५ जनाले रक्तदान पनि गरेका थिए । रक्त सञ्चार केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख धरणीधर पन्त गाउँमा रक्तदान बारे चेतना दिन आवश्यक रहेको भन्दै आफै सहभागि भएका थिए ।