Skip to main content

सुदूरपश्चिम प्रदेश प्रमुखलाई रामेश्वर चौधरीको शपथ रोक्न गुहार

Submitted by editor on
ईबिगुल संवाददाता
 रामेश्वर चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरीको शपथ रोक्न सुदूरपश्चिमका प्रदेश प्रमुखलाई निवेदन गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले रामेश्वरलाई मन्त्रीको शपथ नगराउन प्रदेश प्रमुखसँग गुहार मागेका हुन्।

खुशीराम डगौरा थारूले आफ्नै पार्टीबाट मन्त्री बन्न लागेका रामेश्वर चौधरीको शपथ ग्रहण रोक्न प्रदेश प्रमुखसमक्ष पुगेका छन्। रामेश्वरको शपथ रोक्न जेठ २ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गरेका खुशीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई समेत पत्राचार गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलको विधान विपरीत मन्त्रीको सिफारिस गरेको भन्दै त्यसलाई रोक्नको लागि डगौराले आइतवार प्रदेश प्रमुखलाई पत्राचार गरेका छन्। उनले वैशाख ३१ गतेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा पठाउने निर्णय गरेको बताएका छन्। तर, रामेश्वर चौधरीको विषयमा कुनै आधिकारिक निर्णय नभएको दाबी डगौराको छ। उनले संसदीय दलको नेताले बैठक नबसी, कुनै निर्णय नगरी, संसदीय दलको विधि, विधान, ऐन, कानुन विपरीत ढङ्गले घनश्याम चौधरीले रामेश्वर चौधरीको नाम मन्त्रीका लागि सिफारिस गरेको बताएका छन्।

सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको पद रित्त छ। नागरिक उन्मुक्ति पार्टीको भागमा वन मन्त्रालय छ। तर, मन्त्री छनोटमा नागरिक उन्मुक्ति पार्टीको विवाद चरम उत्कर्षमा पुगेको छ। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू तथा नेता–कार्यकर्ताहरू दुई भागमा विभाजन भएका छन्। उनीहरू पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशमलाल चौधरी पक्षमा विभाजित भएका हुन्। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले गत चैत १६ गते राजीनामा दिएपछि पार्टीमा मन्त्रालय मन्त्री विहीन भएको छ।