धनगढी : अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै सपथग्रहण पनि गरेका छन् । प्रदेश प्रमुख मियाँले चौधरीलाई सपथ खुवाएका हुन्।
सात जना सांसद रहेको नाउपामा कसलाई मन्त्री बनाउने विषयमा विवाद हुँदै आएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिए पनि संसदीय दलका नेता घनश्याम चौधरीले त्यो निर्देशनको पालना गरेनन् ।
कैलाशबाहेक मन्त्रीका लागि घनश्यामलाई नै प्रस्ताव गरिए पनि उनी मन्त्री बन्न राजी भएनन् । संसदीय दलका नेता चौधरीले वैशाख ३१ गते नै रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेका थिए ।
तर, पार्टीका सांसद खुसीराम डंगौराले मुख्यमन्त्री कार्यालयमा पत्र पठाएर उक्त निर्णयप्रति आपत्ति जनाएका थिए । उनले अवैधानिक निर्णय गर्ने संसदीय दलका नेता घनश्यामविरुद्ध छानबिन गर्न माग पनि गरेका थिए ।
पार्टी नेतृत्वको पहलपछि आइतबार रामेश्वरलाई मन्त्रीमा नियुक्ति लागि बाटो खुलेको थियो ।