Skip to main content

कैलालीको एक विद्यालयमा तालाबन्दी

Submitted by editor on
ईबिगुल संवाददाता
 विद्यार्थी र अभिभावक आन्दोलित

धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।

कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका हुन्। आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन्। धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ।

उनीहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन्। विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले उनीहरुसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए। उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे।

विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ। विद्यालयका प्राध्यानाध्यापक खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए। “शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन।

गाउँपालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भन्ने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छ।” कैलारी गाउँपालिका–६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए।