Skip to main content

सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी धनगढीमा आन्दोलित

Submitted by editor on
ईबिगुल संवाददाता
सुनचाँदी व्यवसायी आन्दोलित

धनगढीः सरकारले ल्याएको नयाँ कर प्रणाली विरुद्ध सुनचाँदी व्यवसायी आन्दोलित बनेका छन्।

आन्दोलनका विभिन्न कार्यक्रम अनुसार उनिहरूले आज धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालय सम्म हातमा चाबी लिएर विरोध र्याली निकालेका हुन्।
नयाँ कर प्रणाली खारेजीको माग गर्दै उनिहरू आन्दोलित बनेका हुन्। प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर सुरु भएको आन्दोलन नियमित रूपमा अघि बढ्ने उनिहरूको दावी छ।

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको नेपाल सुनचाँदी व्यवसायी सघँ कैलालीका अध्यक्ष यदु सुनारले बताए। यस्तो प्रक्रिया व्यवसायमा घाटा पुर्याउने भन्दै यसमा पुनर्विचार गर्न उनले माग गरे। हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे। कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी व्यवसायीहरूको माग छ। निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन्।

हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ। भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। व्यवसायीहरूले सरकारलाई अविलम्ब बैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।