धनगढीः कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्।
लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए।
मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन। तर मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ। मृतकको शव भने घटनास्थलबाट उठाइएको छैन। उनका छोरा काठमाडौँबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको डीएसपी सिंहले बताए।