Skip to main content

कैलाली भन्सार कार्यालयको ग्यारेजबाट सेवा सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
bhansar

धनगढी : कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा कार्यालयको भवनमा आगजनी र तोडफोड भएपछि कार्यालय ग्यारेजमा सञ्चालन गरिएको छ ।

कैलाली भन्सार कार्यालयसहित फर्निचर, कम्प्युटर, कागजपत्र जलेका छन् । भन्सार कार्यालयबाट सेवा सुचारु गर्न समय लाग्ने भएकाले सवारी पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा सुचारु गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सेवा सुचारु गरिएको छ । बैँकको काउन्टर, आयात–निर्यातको स्वीकृति लयातको काम सोही भवनबाट हुने भएको छ ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेम प्रसाद अर्यालले भन्सार पूर्ण रूपमा क्षति भएको बताए । उनले प्रशासन भवन, कर्मचारी निवास, सवारी साधन, फाइलहरू, तथ्याङ्क लगायत नष्ट भएको बताए । उनले भने, ‘हामीसँग उपलब्ध भएको श्रोत साधानको प्रयोग गर्दैछौ । एक आवास भनमा क्षति भएको छ । यो गाडीको ग्यारेज हो । हामीले यही भवनबाट कार्यालय सञ्चालन गरेका छौ । कार्यालयको कामलाई सुचारु गर्ने छौ ।’

कैलाली भन्सार कार्यालयले आयात–निर्यातको काम आइतवारदेखि फेरि सुचारु गरेको हो । नेपाल आयल निगम, धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कहरू भने बिहिवार नै धनगढी आयात गरिएको थियो । आइतवारदेखि अन्य अति आवश्यक बस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले थालेको हो । अर्यालले भने, ‘देश पीडामा छ । हामीसँग जे छ, त्यहीबाट सेवा थालेका छौ । नागरिकलाई सेवा दिन थालेका छौ । पेट्रोलियम पदार्थको सहजिकरण अस्तिबाट गरेका थियौ। आइतवारबाट पूर्ण रूपमा सञ्चालन गर्छाैै । हाम्रो स्रोत साधानको प्रयोग गरेका छौ ।’
कैलाली भन्सार कार्यालयको सेवा आइतवारबाट निरन्तर सुचारु भएको हो ।