Skip to main content

काँग्रेस कैलालीको विवाद सतहमा, बैठक पुस्तिका खोसाखोस

Submitted by editor on
 विवाद सतहमा

धनगढी : नेपाली काँग्रेस कैलालीका पदाधीकारी विचको विवाद सतहमा आएको छ । यसअघि फरक/फरक विज्ञप्ती  निकालेर  विवाद देखिएको कुरा अहिले आएर माईन्यूट खोसाखोस सम्मको अवस्था आएको हो । 

विहीबार कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा राखिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा उपसभापती भीम बहादुर बडुवालले अध्यक्ष नारायणदत्त भट्टको हातको माईन्यूट खोसेपछि काँग्रेसभीत्रको विवाद सतहमा आएको हो । माईन्यूटमा आफ्नो नाम नलेखिएको भन्दै बडुवालले माईन्यूट खोसेपछि मोहन्यालमा काँग्रेसको बैठक नै हुन सकेन । 

उक्त बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि बोलाईएको थियो । मुख्यमन्त्री शाहकै अगाडी माईन्यूट खोसाखोस मात्रै भएन, सचिव नृप सुनार र उपसमापती बडुवाल बीच विवाद नै भएको भिडियो सार्वजनिक भएको छ । 

सचिव सुनारले कोरम पुुगाएर बैठक गरौं, अनी बैठकमा कुरा राख्नुहोला भनेको तर बडुवालले बैठक पुस्तिकामा आफ्नो नाम नभएकाले माईन्यूट नै नदिने अडान लिएपछि बैठक स्थगित भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापती दत्त भट्ट सँग उप–सभापति बडूवाल रिसाएका थिए ।

सभापती भट्टले, जिल्ला अनुशासन समितिले बडुवाललाई अनुशासनको कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा उनको नाम माइन्यूटमा उल्लेख नगरेको बताए । ‘बडुवाललाई अनुशासनको कारवाही सिफारिस भएको छ । त्यसको टुंगो नलाग्दा सम्म कसरी माईन्यूटमा नाम लेख्ने ?’ सभापती भट्टले भने । 

श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई कारबाही गरेपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै काँग्रेस जिल्ला कार्यसमितिको लेटर प्याडमा विज्ञप्ती निकालेका थिए । 

त्यसै दिनदेखि सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बीच खुल्ला रूपमा मतभेद हुन सुरु भएको थियो । बडुवाललाई जिल्ला कार्यसमितिले अनुशासनको कारवाहीका लागि प्रदेश समितिमा सिफारिस गरेको छ । जिल्ला सभापतिले उपसभापतिलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको काँग्रेस निकट श्रोतले बतायो ।

कैलाली जिल्ला अनुशासन समितिले भदौ २६ गते उप–सभापति भीम बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समितिले कारबाहीको लागि सिफारिस गरेको जिल्ला सचिव केशव मिश्रले जानकारी दिए ।
उपसभापति बडूवालले यस अघि नै प्रदेश सभापती, उपसभापती जिल्ला सभापती आफू र अनुशासन आयोगका २ जना बसेर छलफल भएको विषयलाई पनि जिल्ला सभापतीले कार्यान्वयन नगरेको बताए ।

‘मेरो कारबाहीको कुनै तुक नै छैन । फेरि प्रदेशमा बसेर छलफल भइसकेको विषयलाई जिल्ला सभापतिले दम्भ देखाउनु भयो’ उनले भने ‘मेरो माग पुरा नहुँदा सम्म जिल्ला समितिको बैठक अगाडी बढाउन दिन्न ।’

यसअघिको जिल्ला समितिको बैठकमा पनि उपसभापति बडूवालको नाम माइन्यूटमा राखिएको थिएन । त्यस पटक आफूले विरोध नगरेको र दोस्रो पटक पनि त्यस्तै गरेपछि विरोध गरेको उपसभापति बडूवालले बताए ।