Skip to main content

बझाङ उपनिर्वाचन–एमाले–काँग्रेसबीच प्रतिष्पर्धा, माओवादी र समाजवादी अस्तित्वको लडाईमा

Submitted by editor on
प्रताप ओली
मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बीच

बझाङ : बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बीच नै हुने भएको छ । २०४८ साल यताका चुनावहरुको विश्लेषण गर्ने हो भने गठबन्धन बनेर लडेबाहेक धेरै पटक एमाले र केही पटक काँग्रेसले जीत हासिल गरेको छ । 

२०५६ को आम निर्वाचनसम्म कांग्रेसको प्रभुत्व रहेको बझाङमा त्यसपछिका चुनावमा एमालको दबदबा देखियो । बझाङमा कांग्रेस र एमाले विगतदेखिकै स्थायी प्रतिद्वन्द्वी हुन् । २०१५ सालको आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भयो । २०४८ पछिका निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए । 

२०४८ को आम निर्वाचनमा पनि बझाङका तत्कालीन २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।

२०५६ को आम निर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम् प्रतिस्पर्धीमा कांग्रेस छ । बझाङ प्रदेश सभा–१ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत उस्ताउस्तै छ ।

२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ मा संविधान निर्माण भएपछि राज्य पुनर्संरचना हुँदा बझाङमा एउटामात्र निर्वाचन क्षेत्र तोकियो । मुलक संघीय संरचनामा जाँदा बझाङमा २ वटा प्रदेश सभा सीट भए । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेश सभा–१ मा एमाले र २ मा माओवादी केन्द्रले बाजी मारे ।

एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार बेहोर्नुप¥यो । २०७९ मा आउँदा एमालेले कांग्रेस, मााओवादीका साथै आफूबाट छुट्टिएको एकीकृत समाजवादी सम्मिलित गठबन्धनको सामना गर्नुप¥यो ।

स्थानीय तह र प्रदेश सभा समानुपातिक तर्फको मत हेर्दा बझाङ प्रदेश सभा–१ को जनमतमा एमाले अगाडि छ । एकीकृत समाजवादीले एमाले बझाङको नेतृत्व सम्हालिसकेका दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । 

सिंहले केही मत एमालेबाट चोर्न सक्ने देखिएकाले त्यसको प्रभाव एमालेका उमेदवार दमन भण्डारीलाई पर्ने सम्भावना पनि छ । माओवादी केन्द्रले पनि उम्मेदवार खडा गरेको अवस्थामा एमालेसँग प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने देखिन्छ । चारै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिए एमाले र कांग्रेसबिचको भिडन्त रोचक हुने बझाङको विगतको गणितले देखाउँछ ।

२०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार बेहोरेको एमालेले समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभातर्फ पहिलो मत पाएको छ । यद्यपि प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीले जित्दा प्रदेश सभा–१ मा कांग्रेस २ मा माओवादी केन्द्र विजयी भयो ।

गत असार ५ मा सवारी दुर्घटनामा परी प्रदेश सभा–१ बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भयो । सिंहको निधनपछि रिक्त बझाङ प्रदेश सभा–१ कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक्लाएक्लै मैदानमा उत्रिएका छन् ।

‘प्रतिस्पर्धा एमाले र काँग्रेसबीच नै हुन्छ । माओवादी र समाजवादी त अस्तित्व जोगाउनका लागि लडेका हुन भन्न सकिन्छ । समानुपातिकमा आएको मतका आधारमा यस्तो अनुमान लगाउन सकिन्छ’ जयपृथ्बी बहादुर क्याम्पसका प्राध्यापक लाल बहादुर बोहरा भन्छन । ‘दलहरु, जति भएपनि आफ्ना मतदाता जोगाउन पनि त लडछन नी ।’

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । 

बझाङमा कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी सहित ११ दलका उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट दमनबहादुर भण्डारी र नेपाली काँग्रेसबाट अभिषेक सिंह मुख्य प्रतिस्पर्धी हुन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह पनि प्रतिस्पर्धामा उत्रिएका छन् । यी दुबै पार्टीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएका छन् ।