Skip to main content

खडेरीको असर - धनगढी सहित पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो

Submitted by editor on
आर्टीजन बोरिङहरु गरेर खुला पानी छोडि दिने, बृक्षारोपण गरेपनि रोपिएका बृक्षहरुको संरक्षण नहुने, घर बनाउदा जमिनमुनी रिजार्ज हुने ब्यवस्थापन नगर्नाले भूमीगत जलस्रोत घटिरहेको छ ।
शिवराज भट्ट
नल्का सुके

धनगढी : धनगढी उपमहानगरपालिकावडा नम्बर १२ का धन बहादुर लामाको नल्का सुकेको दुई हप्ता भयो । उनी अहिले छिमेकीको नल्काको भर परेका छन । ‘नल्का सुकेपछि न बारीमा लगाउन पानी लगाउन पाईएको छ, न छतको ट्यांकीमा नै’ लामाले भने । 

लामाको मात्रै होईन, सोही ठाउँका हरि रिजाल, सीता तामाङ, त्रिलोक सिंह, अबिनास कठायत, प्रेम नेपाली सहित टोलका अधिकांसको नल्का सुकेका छन । ‘यसपालीको जस्तो खडेरी कहिल्यै देखिएन, हिउदमा पनि पानी परेन, असारको आधा हुनलाग्यो, मनसुन कहिले आउने हो टुंगो छैन’ स्थानीय सञ्जु तामाङले भने ।

धनगढी उपमहानगरका उत्तरबेहडी, तारानगर, हसनपुर र शिवनगर क्षेत्रका पनि अधिकांस बासिन्दाका हाते नल्का सुकेका छन । नेपाल खानेपानी संस्थानले वितरण गरेको पानीमा पनि प्रेसर नपुुगेपछि दुई÷तीन तलासम्म चढने पानी नचढेर अधिकांसका छतमा राखिएका ट्यांकीहरु रित्ता भएका छन ।

‘मेरो घरको तीन तलामा पानीको ट्यांकी छ, खानेपानी जोडेको ६ वर्ष भयो, अहिलेसम्म कहिल्यै पनि पानीको अभाव भएन, एक महिना देखि खानेपानीको पाईपमा प्रेसर नै आउदैन । भुईतलामा भाँडाहरुमा भरेर बाथरुम र भान्सामा पानी लाने गरेकी छु’ धनगढी ४ उत्तरबेहडीकी शान्ति पाण्डेले भनिन ।

अहिले तराईका अधिकांस गाउँबस्ती र शहरमा पानीको अभाव देखिएको छ । सिंचाईका लागि गरिएका डिप ट्युबेलहरुमा पनि धेरैमा पानी आउन छोडेको छ भने आएकोमा पनि थोरै पानी आउन थालेको छ । नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाह भन्छन, ‘धनगढीमा भूमीगत पानीको सतह २ मिटर घटेको छ, संस्थानकै आपुर्तीमा समस्या देखिन थालेको छ ।’

धनगढीमा मात्रै नेपाल खानेपानी संस्थानका ९ हजार एक सय खानेपानीका उपभोक्ता छन । संस्थानको अलावा शिवनगरमा रहेको शिवनगर बृहत खानेपानीका पनि ५ हजार भन्दा बढी उपभोक्ता छन ।

खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ । तर, गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको तर भूूमीगत पानीको सतह घटेपछि समस्या भईरहेको छ । 

संस्थानले हाल दैनिक १७ लाख लिटर खानेपानीको माग रहेको जनाएको छ । ‘उपभोक्ताका हाते पम्प(नल्का) पानीको सतह घटेपछि सुक्न थाले, घरभीत्र र बाहिर बारीका लागि पनि संस्थानकै पानी प्रयोग हुनथाल्यो, त्यसले पनि पानीको अभाव भएको छ’ संस्थानका प्रमुख शाहले भने ।

विद्यालयका नल्काहरु सुकेपछि उपमहानगरले ट्यांकरमा खानेपानी आपुर्ती गरिरहेको छ । विद्यालयको खानेपानीको नल्का सुकेछ, ७÷८ सय विद्यार्थी यस्तो गर्मीमा पानी नखाएर कसरी बस्न सक्छन, उपमहानगरमा खबर आयो, हामीले ट्यांकरमा पानी पठायौं’ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने ।

उनले भूमीगत जलको स्रोत घटिरहेको उपमहानगरले एकवर्ष अघि गराएको अध्ययनले पनि देखाएको बताए । ‘आर्टीजन बोरिङहरु गरेर खुला पानी छोडि दिने, बृक्षारोपण गरेपनि रोपिएका बृक्षहरुको संरक्षण नहुने, घर बनाउदा जमिनमुनी रिजार्ज हुने ब्यवस्थापन नगर्नाले भूमीगत जलस्रोत घटिरहेको छ’ मेयर हमालले भने ।

उपमहानगरले गतवर्ष देखि नै उपमहानगरभीत्रका परम्परागत तालको अतिक्रमण हटाउने अभियान पनि चलाएको छ । ‘परम्परागत तालहरुमा अतिक्रमण गरेर कंक्रिटका घरहरु बनाउन थालिए । पानी पर्नभरण हुने तालहरु अतिक्रमणमा परेपछि यस्तो समस्या आएको हो, उपमहानगरले परम्परागत तालहरु हटाउने अभियान तिब्र पारेको छ’ मेयर हमालले भने ।