Skip to main content

बाढीको वितण्डा–बझाङमा नदीले धार परिवर्तन गर्दै, १८ परिवार विस्थापित

Submitted by editor on
प्रताप ओली,
 १८ परिवार विस्थापित

बझाङ : सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् । सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका वडा नम्बर १ को पथुडातिर सोझिदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरि १८ परिवार विस्थापित भएका हुन् । 

झ्याबगर गाउँ दुई वटा भंगालोको बीचमा परेको छ । गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन् । ‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ झ्याँबगरका स्थानीय समेत रहेका थलारा गाउँपालिका –९, का वडा अध्यक्ष लोकेन्द्र बिस्टले भने । ‘नदीको सतह बढेको बढ्यै छ । जुन सुकै बेला पनि गाउँ बगाउन सक्छ ।’

बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भएपनि घर भित्रको सामान जोगाउन नसकेको जनप्रीय माध्यमिक विद्यालयका शिक्षक समेत रहेका अर्का स्थानीय नविनबहादुर बिस्टले बताए । 

यस्तै केदारस्युँ १ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै रोपेका खेतहरु बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताए । उनले भने, ‘हेर्दाहेर्दा रोपेका खेतहरु बगिसके । अब घर बग्न बेर लाग्दैन । हामी चार परिवारले घर छोडिसक्यौं अझैं तीन घरका पनि विस्थापित हुने क्रममा छन् ।’

सेती नदीले केदारस्युँ १ को देउरा पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ का झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ  र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरि कटान सुरु गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेवसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेवसाइटमा उल्लेख छ । शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जल सतह शनिवार साँझ सम्म निरन्तर बढेको बढ्यै छ ।

लगातारको बर्षा पछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुई वटा पोल बगाउँदा बझाङको विद्युत सेवा पनि अबरुद्ध भएको छ । सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सर्तक रहन जिल्ला प्रशाशन कार्यालयले शुक्रबार देखी नै निरन्तर सर्तकता सुचना जारी गरिरहेको छ ।