Skip to main content

बाढी पिडितको प्रश्न–‘घर बचेका त घर फर्के, घर बगेका काँ जाने ?’

Submitted by editor on
दोधाराचाँदनी नगरपालिकाको कुतियाकर लगायतका स्थानमा महाकालीको जलस्तर बढने बित्तिकै पश्चिम तर्फ जोगबुडा नदीको बहाव रोकिन्छ र त्यो ओभरफुलो भएर बस्ती पस्ने गर्छ ।
महादेव अवस्थी
बस्तीमा घर भएकाहरु

दोधाराचाँदनी (कञ्चनपुर)  : कञ्चनपुरको दोधारा चाँदनी –१० कुतियाकवकी सीलादेवी सुनार निराश हुदै अम्बिका माध्यमिक विद्यालयको बरान्डामा बसेकि थिइन । 
आइतबार राती आएको बाढीले घर भत्काएपछि उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर विद्यालयमा ल्याएको हो । उनले परिवार र आफ्नो ज्यान त जोगाईन तर गोठमा बाँधेका पशुचौपाया र घर बाढीले बगाएर लग्यो । 

‘सानो झुपडी थियो, त्यही पनि बाढीले बगाइदियो, राती १ बजे सुरक्षाकर्मी नगएको भए हाम्रो पनि ज्यान जाने’ सुनारले भनिन । ‘अहिले त विद्यालयमा बसेका छौ, पानी घटेपछि कहाँ जाने ? उनको बस्तीमा घर भएकाहरु मंगलबार घर फर्किसकेका छन तर उनको घर बगिसकेकाले  उनलाई कता जाने ? भन्ने पीर थपिएको छ ।

तत्कालका लागि पालिकाले बस्ने र खाने व्यवस्थापन गरेको छ तर बाढीले घरै भत्काएपछि अब कहाँ बस्ने चिन्तमा उनी छिन । दोधारा चाँदनीकै तीला कामी पनि राती १ बजे विद्यालयमा आश्रय लिन पुगिन । छेवैमा बाँधिएको बाख्र्रो सुम्सुम्याउदै भनिन, ‘घरमा भएको बचाउन सकेको भनेको यही बाख्रो हो । न अन्न बाँच्यो, न लत्ता कपडा नै ।’ 

उनको ५ जनाको परिवार अम्बिका माध्यमिक विद्यालयमा बसेको छ । उनले सरकारले महाकाली नदी र जोगबुढा नदीमा तटबन्ध गरेपनि बाढी आउन नरोकिएको बताइन । ‘अन्न लत्ता कपडा सबै बगाएको छ, सरकारले सहयोग गरिदिनुप¥यो’ उनले भनिन । ‘वालबच्चा र वृद्धबृद्धाहरुलाई समस्या भएको छ, लगाउने लुगासम्म बचाउन सकिएन ।’

दोधाराचाँदनी नगरपालिका पूर्वमा महाकाली नदी र पश्चिममा जोगबुडा नदीले घेरेको ठाउँ हो । भारतको चम्पावत जिल्ला भरीको पानी जोगबुडा नदीमा आउने गर्छ । दोधाराचाँदनी नगरपालिकाको कुतियाकर लगायतका स्थानमा महाकालीको जलस्तर बढने बित्तिकै पश्चिम तर्फ जोगबुडा नदीको बहाव रोकिन्छ र त्यो ओभरफुलो भएर बस्ती पस्ने गर्छ ।

जोगबुडामा करोडौंको लगानीमा जनताको तटबन्ध कार्यक्रम अन्र्गगत नदिएको नियन्त्रण गरिएको छ तर पनि जोगबुडाको बाढी नियन्त्रण हुन सकेको छैन । दोधाराचाँदनीको दक्षिण क्षेत्रका बस्ती हरेक वर्ष महाकाली र जोगबुडाको बाढीको चपेटामा पर्दै आएका छन । 

दोधाराचाँदनी नगरपालिकामा रहेको अम्बिका माध्यमीक विद्यालयमा पाँच सय बढी बाढी प्रभावितले आश्रय लिएका थिए तर ती मध्ये अधिकांस सोमबार बाटै घर फर्किन थालेका छन । दोधाराचाँदनीको कुतियाकभर, शान्तिटोल, निशानी टोल, बैदीफाँटा, सुन्दरनगर र कञ्जभोज लगायतका बस्ती डुबानमा परेका छन ।