प्रताप ओली
बझाङ, विक्रम सम्वत २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुगे, त्यसपछि खप्तडको प्रचार हुँदै गयो । विसं २००२ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको अगुवाइमा खप्तडका जंगलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए । पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए ।
त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो । खप्तड समुद्र सतहबाट २४ सय देखि ३७ सय मिटरको उचाइमा छ । दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटी पाईन्छ । कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर र संयौं प्रकारका चराचुरंगीहरु यस क्षेत्रमा अवलोकन गर्न पाईन्छ । निकुञ्जको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि अथवा वि.सं २०४७ साल देखि त्यहाँ नेपाली सेनाको ब्यारेक राखिएको छ ।
यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्दछ । यस निकुन्जमा सल्ला, खसुर र निगालोका जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरू रहेका छन् । यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ । यस निकुञ्जको करिब मध्य भागतिर १२ हजार फिट अग्लो खप्तड लेकमा ५० वर्ष खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ छ । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।
यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर मुख्य आकर्षण हुन् । प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन । यातायात र उचित बास बस्ने व्यवस्था क्रमशः बढिरहेका बेला आन्तरिक र बाह्य पर्यटकहरु विस्तारै बढिरहेको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । उनका अनुसार पहिले जेठदेखि कात्तिकसम्म मात्रै पर्यटक खप्तड पुग्ने गरेका भएपनि आजभोली जुनसुकै समयमा पनि पर्यटक खप्तड पुग्ने गरेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ देखी आर्थिक वर्ष २०७८÷७९ सम्मको तथ्याङ्क अनुसार धार्मिक प्रयोजन भन्दा बाहेकका पर्यटकको संख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुराका सूचना अधिकारी रेन्जर ज्ञानेन्द्र बहादुर शाहले बताए । सूचना अधिकारी शाहका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ७ सय ४६ जनाले खप्तड भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७७÷७८ मा १ हजार ६ सय ८८ जना, आर्थिक वर्ष २०७८÷७९ मा उक्त संख्या बढेर खप्तड भ्रमण गर्नेको संख्या २ हजार २ सय ९ जना पुगेको छ । पर्यटक वृद्धिका साथै आन्तरिक आयमा वृद्धि भइरहेको समेत सूचना अधिकारी शाहले जानकारी दिएका छन् । उनका अनुसार रोयल्टी, पर्यटन शुल्क, बन पैदावार बिक्री वितरण, दण्ड सजाए बापतको रकम बर्षेनी वृद्धि भइरहेको देखिन्छ ।
सूचना अधिकारी शाहले आर्थिक वर्ष २०७७÷७८ मा ६ लाख २२ हजार र आर्थिक वर्ष २०७८÷७९ मा ९ लाख २० हजार आम्दानी भएको बताए । पर्यटन ब्यवसायी दिपकबहादुर खड्का भन्छन, ‘खप्तडका लागि यो आम्दानी नगन्य हो । खप्तडमा आवतजावत गर्ने सडक र बस्ने बासको मात्रै ब्यवसथा भयो भने त्यहाँ थेग्न नसक्ने पर्यटकहरु आउन सक्छन ।’ सरकारले खप्तडको विकासका लागि ध्यान दिन नसकेको यस क्षेत्रका पर्यटन ब्यवसायीको गुनासो छ । चालु आर्थिक वर्षमा अहिलेसम्म १ हजार ६ सय ४ जना पर्यटकले खप्तड घुमिसकेका छन ।
निकुञ्जका रेन्जर तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर शाहले नेपालीलाई रु एक सय, शार्क मुलुकका नागरिकलाई ५ सय र अन्य देशका पर्यटकलाई १५ सय प्रवेश शुल्क तोकिएको बताए । खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको खप्तडछान्ना गाउँपालिकाको मेल्तडी हुँदै लोखडाबाट वा डोटीको झिंग्रानाबाट जान सकिन्छ । खप्तड पुग्न कैलाली जिल्लाको अत्तरियाबाट डा. केआइसिंह राजमार्ग हुँदै डोटी झिग्रेना वा जयपृथ्वी राजमार्ग भएर तमैल हुँदै खप्तडछान्नाबाट जाँदा ७ देखि ८ घण्टामा खप्तड पुगिन्छ ।
विश्वका धेरैजसो मुलुकहरु पर्यटन व्यवसायबाट मजबुत अर्थतन्त्र बनाउन सफल भएको परिप्रेक्षमा खप्तड पनि एक पर्यटन व्यवसायका लागि उदाहरण बन्न सक्छ । खप्तड जान आकाश मार्ग र सडक मार्ग दुबै सुधार गर्न सकिने हो भने पर्यटकिय गतिविधि बढाउन सकिने पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनका अनुसार अहिले धनगढी–बझाङ हप्तामा दुई दिन मात्रै हवाई उडान छ । नीजि क्षेत्रको समिट एयरले उडान गरे पनि यहाँको प्रचारप्रशार र होमस्टे, अत्याधुनिक होटेलको व्यवस्था हुन सकेको छैन । नेपाल बायुसेवाको सस्तो दरको दैनिक उडान भएमा र सडक यातायात पुर्वाधार भएमा खप्तडले सुदूरपश्चिमको अर्थतन्त्रमा सुधार ल्याउने उनको भनाई छ । खप्तड आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परे पनि आवागमनमा कठिनाई र बासको ब्यवस्थ नहुँदा नराम्रो प्रचार भईरहेको छ । खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्नलाई अलि समस्या रहेको झिग्रेनामा होमस्टे सञ्चाल गरिरहेका पर्यटन व्यवसायी दिपक खड्काले बताए । ‘सरकारले पर्यटकीय स्थलका बारेमा नारा ल्याउँदा राम्रा राम्रा ल्याउँछ तर व्यवहारमा लागू हुदैन’ खडकाले भने । ‘सरकारले देशभरमा सयवटा गन्तव्य स्थल छानेको छ । त्यसभित्र खप्तड पनि पर्दछ । तर, त्यहाँ पुग्दा पर्यटकलाई के–कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन । सरकारले पर्यटन प्रवर्धन गर्ने कुनै पनि नीति ल्याउँदा व्यवसायीसँग पनि सल्लाह गरेर ल्याएमा त्यो फलदायी हुने थियो । तर अहिलेसम्म यस्तो गरिएको छैन ।’
निकुञ्जमा घुम्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको र सरकाले निश्चित मापदण्ड बनाएर निश्चित व्यवस्था गरे राम्रो हुने खप्तडछान्ना गाउँपालिका अध्यक्ष्य उत्तम रोकायाले बताए । खप्तड राष्ट्रिय निकुञ्जको नाम सुन्दा र हेर्दा खप्तड जति सुन्दर छ त्यस्तै व्यवस्थापकीय पक्ष साह्रै कमजोर रहेको सरोकारवाला र भ्रमण कर्ताहरू बताउँछन् ।