अछाम ः मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखिम पनि निम्त्याएको छ । वर्षातका कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन् । सडक नै पहिरोले बगाएको छ ।
गाउँगाउँमा सडक पु¥याउने मुख्य योजना बनाएका अछामका स्थानीय सरकारको होडबाजीले जथाभावी डोजर चलाउन छोडेका छैनन् । कतिपय स्थानीय तहले उपभोक्ता समितिमार्फत् योजनाबिनै अनुमानका भरमा सडक निर्माण गरिरहेका छन् भने कतिपय ठाउँमा प्राविधिक बिना नै सडक बनेका छन् ।
अछामका स्थानीय सरकारले सडकलाई प्राथमिकतामा राखेर ट्रयाक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन् । नयाँ सडक निर्माण मात्रै होइन, पुराना सडकको मर्मतमा पनि डोजरकै प्रयोग भइरहेको छ । तर, कुनै पनि स्थानीय सरकारले डोजर प्रयोगको मापदण्ड भने बनाएका छैनन ।
‘कतिपय जनप्रतिनिधिका आफ्नै डोजर छन् । आफ्नो फाइदाको लागि जथाभावी प्रयोग गरिरहेका छन् । पानीका मुहान सुक्ने, बाढी पहिरो जानेजस्ता वातावरणलाई असर पार्ने कुरामा उनीहरुको ध्यान छैन’ एक कर्मचारीले भने ।
४ वर्षअघि अछामको रामरोशनमा बाढीको कारण १७ जनाको मृत्यू भयो । कतै पहिरोले सडक ,कतै पुल र खेतको क्षति भयो । २ सय ५० भन्दाबढी घर भएको अल्लेडी गाउँकोमुनी, सिरानी र वारीपारी नै पहिरो लागेको छ ।
निरन्तरको झरीले गाउँ छियाछिया बनायो । ३८ घरका दजनौं परिवार आफन्तकोमा सहयोग माग्न पुगे । सबै गाउँ जोखिममा भएकाले रुँदै कराउँदै भागाभागको अवस्था आयो ।
‘ओल्लो गाउँबाट पल्लो गाउँ जान सक्ने अवस्था अहिलेसम्म पनि अवस्था उस्तै हो । गारेटो बाटो पहिरोले लग्यो, खानीपानीका मुहान, टंकी सबै पहिरोले लग्यो’ स्थानीय लोकेन्द्र बोहोराले भने । ‘गाउँमा जताततै सडक बनेका छन् । गाउँमा पहिरो जानुको कारण सडक जथाभावी खन्नु नै हो ।’
जिल्ला प्रशासन कार्यालय अछामकाअनुसार तीन वर्ष तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा ९ जनाको पहिरोमा पुरिएर मृत्यु भयो । त्यस्तै ढकारी गाउँपालिका वडा नम्बर ६ ढुंगाचाल्नामा २ जनाको मृत्यू भयो । कमलबजार नगरपालिका–८ डुंगालामा ५ जना र कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हात्तिबाँझमा ७ जनाको मृत्यु भयो । एकै वर्ष १८ जनाको मृत्यु भयो ।
‘गाउँको कुनै भागमा पनि सडक नपुगेको भन्ने छैन । तर यी सडकमा गाडी भने कहिल्यै गुड्दैनन्’ ढकारी गाउँपालिका–६ का पहिरो पीडित निर्मल बुढाले भने,‘ स्थानीय तहले कहाँ सडक बनाउने, कहाँ कुन साधनको प्रयोग गर्ने भन्ने मापदण्ड बनाएको छैन । अझ कतिपय सडक त प्राविधिकहरूले अध्ययन नगरी नै खनिएका छन ।’
विस्तृत प्राविधिक अध्ययन बिनै निर्माण भएपछि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएको उनले बताए । कतिपय स्थानहरुमा साविकको भाडादर भन्दा झण्डै दोब्बर भाडा तिर्नुपर्ने बाध्यता भएका कारण पनि यात्रुहरु बढी मारमा पर्नु परेको उनले बताए ।
डोजर प्रयोग गरेर निर्माण गरीएका सडकमा पहिरो जाने र अन्धाधुन्ध निर्माण गरिएकाले गाडि नचल्ने गरेको स्थानीयको गुनासो छ । ‘डोजर प्रयोग गर्नु भन्दा बेरोजगार युवाहरुलाई परिचालन गरेर सडक निर्माण गर्नुपर्छ भनेर आवाज उठाउँदा कसैले सुन्दैनन् ।’ साउदले भने ,‘डोजर प्रयोग गरेको एक महिनामा नै पहिरो जान सुरु हुन्छ,’ उनले भने ।
असारबाट गाडी चल्न बन्द हुने ग्रामीण सडक असोजमा मात्रै फेरि सञ्चालनमा आउँदा विरामी, गर्भवती, बालबालिका र बृद्धबृद्धालाई असजिलो हुने गरेको उनले बताए ।
मंगलसेन नगरपालिकाका इन्जिनियर खम्म केसीकाअनुसार धेरैजसो सडक वर्षा बाहेकको समयमा सुचारु हुन्छन् । ‘ग्रामीण सडकमा नाली छैनन् । नाली भएन भने वर्षामा सडक सुचारु हुन सक्दैन ’ उनले भने , ‘नाली नभएका कारण सडक अवरुद्ध हुन्छन् ।’
स्थानीय तहले लापर्बाही तरिकाले सडक खन्ने प्रक्रिया नरोकिएको जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरले बताए । ‘हिउँदभरी स्थानीय तहले सडक खन्ने र वर्षामा त्यही खनेका सडकले पहिरो निम्त्याउने डर देखिएको छ,’ उनले भने ,‘यी सबै कुराको अनुगमन गर्ने समन्वय समतिको जिम्मेवारी भित्रै पर्छन् । तर हामीसँग अनुगमन गर्नलाई प्राविधिक र दक्ष जनशक्ति छैन ।’ कान्तिपुरबाट