Skip to main content

भारतमा भएको चोरी काण्डमा कैलालीमा ८ पक्राउ, २८ लाख र गरगहना फेला

Submitted by editor on
ईबिगुल संवाददाता
चोरी सम्बन्धी घटना

धनगढी : भारतको दिल्लीमा भएको चोरी सम्बन्धी घटनामा जोडिएको प्रकरणमा कैलालीमा ८ जना पक्राउ परेको खुलेको छ । ११ अप्रेलमा दिल्लीमा स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा विभिन्न किसिमले जोडिएका ८ जनालाई पक्राउ गरिएको खुलेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार भारतीय दुतावासमार्फत चोरीको घटनामा आवश्यक समन्वय गरेर सघाइदिन अनुरोध गरिएको थियो । सोही आधारमा धनगढीका तीन जना सुनचाँदी व्यवसायीसहितका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापती रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रकाश मल्लले पुष्टि गरेका छन् ।

उनकाअनुसार गोदावरी नगरपालिकाका मिनबहादुर गुरुङ र ज्ञानेन्द्र  खड्कालाई समेत पक्राउ गरिएको छ । यो प्रकरणमा संलग्न दुई जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी छ।

प्रहरीकाअनुसार उनीहरुको साथमा नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो नौ सय ग्राम चाँदी र चार वटा घडी फेला परेको छ ।

प्रहरीकाअनुसार भारतीय दुतावासमार्फत बद्रीलालको घरमा दुई किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको भन्दै दुतावासमार्फत समन्वयका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । यो प्रकरणको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्ल स्वयंमले गरेका थिए ।

भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शिर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भएपनि प्रहरीले समन्वय गरेर आरोपीतको साथमा भेटिएको नगद र गरगहना सम्बन्धीत पक्षलाई नै फिर्ता गराउने गरेको छ । कपीपेष्ट पत्रकारिता अपराध हो ।प्रहरीकाअनुसार भारतमा घरेलु कामदारका रुपमा जाने नेपालीहरु संगठीत रुपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ ।

एसएसपी मल्लले भारतमा हुने चोरीमा विभिन्न खालका मानिसहरु जोडिने गरेको पाइएको बताए । भारतमै रहेको एउटा समूहले सुरुमा चोरी गर्ने ठाउँ पत्ता लगाएर त्यहाँ घरेलु कामदारका रुपमा नेपालीलाई राख्ने गरेको छ ।

मल्लकाअनुसार कामदारले चोरी गर्ने व्यक्तिलाई सुनचाँदी र नगद राखिएको बारेमा सूचना दिने गर्दै आएको देखिएको छ भने सोही आधारमा उनीहरुबीच चोरी गर्ने योजना बन्ने गरेको पाइएको छ । त्यसरी चोरी गरिएको सुन र गरगहना नेपालमा ल्याएर सुनचाँदी व्यवसायीसँग बिक्रि गर्दै आएका छन् ।

यो गिरोहमा विचौलियाको भूमिका खेल्दै आएका केहीले नेपालस्थित सुरक्षा निकायलाई समेत मिलाउने भन्दै रकम लिने गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।