कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गरिएको छ । श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले ११ बुँदे माग राख्दै नगरपालिकाको वडा नम्बर ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गरेको हो ।
सामुदायिक वन उपभोक्ता समुहले अन्य क्षेत्रको फोहर नल्याउने, आवासीय क्षेत्रमा मेसवायर जाली जडान गर्ने, प्रत्येक उपभोक्तालाई एलपी ग्यास उपलब्ध गराउने, वनहरा र सनवोरा नदीमा तटबन्ध निर्माण गर्ने, स्थानीयलाई रोजगारी दिने लगायत माग राखेर तालाबन्दी गरेका छन ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर ऐरले आर्यघाट क्षेत्र व्यवस्थित गर्ने, डस्टबिनको व्यवस्था गर्ने, प्रभावित बस्तीमा सडक कालोपत्रे र बत्ती जडान गर्ने, सामुदायिक वनको सीमसार क्षेत्र संरक्षण गर्ने, स्वास्थ्य बीमा तथा निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने, र समयावधि पूरा भएपछि जग्गा फिर्ता गर्ने गरी सम्झौता भएको बताए । उनले फोहोरमैला व्यवस्थापन केन्द्रले सम्झौता पालना नगरेपछि तालाबान्दी गरिएको बताए । सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगरक्षेत्रको फोहर सङ्कलन र विसर्जन कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ ।
फोहर विसर्जन रोकिएपछि बजार क्षेत्रको फोहर सङकलन र विर्षजन हुन सकेको छैन । करिब ३० करोडभन्दा बढी लागतमा एसियाली विकास बैंक एडीबी को सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । फोहरमैला व्यवस्थापन केन्द्र आधुनिक प्रविधिसहित निर्माण गरिएको छ ।
प्राविधिक अध्ययनअनुसार यस केन्द्रले दैनिक छ टनसम्म फोहर व्यवस्थापन गर्ने क्षमता राख्छ भने करिब दुई दशकसम्म सञ्चालन गर्नसक्ने अनुमान गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव दिलबहादुर साउदले तालाबन्दी गरे पनि नगरपालिकाले मागबारे बेवास्ता गरेको बताए ।