अत्तरिया : दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर घरको आगनमा चट्याङ पर्दा शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
घाइतेलाई मालिकार्जुन गाउँपालिका‐७, जोलजिवीमा चट्याङ लागेको उनले बताए । जोलजिवीका मनीराम टमटाको घरको आगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरूलाई समेत चट्याङको छिटा परेको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको तथा अहिले घरमै रहेको उनले बताए ।
घाइते रिया र दिपेश बिमलाका छोरा छोरी हुन् । बिमला माइती घरमा आएको बेला चट्याङ लागेको बताइएको छ । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एक गोरुको मृत्यु भएको प्रहरी निरिक्षक रावतले जानकारी दिए ।