धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने पे्रम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको थियो । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए ।
चर्चमा हरेक शनिवार संगती लाग्न थालेपछि स्थानीयले बिरोध गरेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको हो । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको हो ।
छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान भवन बनाएर त्यसमा संगती लाग्न थालेपछि स्थानीयले जानकारी पाएका थिए । लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि साढे ४ कठ्ठा जग्गा भाडामा लिएको थियो ।
१५ वर्षपछि भवन भण्डारीकै हुने सर्तमा जग्गा भाडामा लिएर त्यसमा भवन बनाईको हो । तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिनेगरी चर्चलाई भवन प्रयोग गर्न दिएको छ ।
लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईले दाबी गरेको थिए ।
सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन् । मंगलवार स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए ।
सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारीले छानबिन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका थिए ।