Skip to main content

पूर्वमुख्यमन्त्री रावलले गरे दोधाराचाँदनीको बाढीग्रस्त क्षेत्रको निरिक्षण

Submitted by editor on
जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकासहित एक सय ५ जना बाढी पीडित आश्रय लिएर बसेका छन ।
ईबिगुल संवाददाता
पूर्व मुख्यमन्त्री रावल

दोधाराचाँदनी (कञ्चनपुर) :असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । 

त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । 

‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौँ । घर बस्नै नमिल्ने बनेको छ । होचो भूभाग हुँदा अझै पानी जमेकै छ । बल्ल बल्ल ज्यान जोगाएपनि घरभित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलसमक्ष गुनासो गरिन ।

नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको टोलीले बाढीले क्षति पु¥याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाउँको स्थलगत निरीक्षण गरेको छ । सुदूरपश्चिमका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूसहित जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितका गुनासा सुनेका हुन ।

बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भइसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ । जमुना आधारभुत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन । 

जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकासहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ का अध्यक्ष हरिसिंह धनाडीले बताए ।

विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए । ‘सुरक्षित आवासको व्यवस्था गरिदिनुप¥यो । अहिले विद्यालयमा बसिरहेका छौँ । सामान्य वर्षा हुँदा पनि बस्ती डुबानमा पर्छ’ उनले भने । ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ ।’

दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटराखल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिँदैछ । बर्षात् नसकिदासम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए ।

पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए ।

बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेलसंग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन । 

‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ । बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घच्घच्याउँछौँ,’ रावलले भने । ‘पीडामा तपाईहरुको साथमा छौँ । राहतको लागि पहल गर्छौ ।’

दोधारा चाँदनी–१० को १८ नम्बर पिल्लर र आसपासको बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ । तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन् । 

बिना बर्दिका सैनिकझैँ सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो । जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ । 

जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ । बाढीले कतिपय घरमा क्षति पु¥याएर स्थानीय विस्थापित बनेको वडाध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिए ।