Skip to main content

संस्कृतका श्लोक र गीत मार्फत बजेटप्रति असन्तुष्टि

Submitted by editor on
ईबिगुल संवाददाता
 बजेटमाथिको छलफल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले गीत र संस्कृतका श्लोकमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदेशसभाको आजको बैठकमा बजेटमाथिको छलफलका क्रममा प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० संसदीय दलका नेता खगराज भट्टले संस्कृत श्लोकवाचन गरेर बजेटप्रतिको असन्तुष्टि व्यक्त गरेका थिए। श्लोक यस्तो थियोः

 ‘वाचाल बाणी, बहुयोजनायः नकर्मणा दृष्यते सङ्गति,
 कोशष्य भरिए, सो हेतु कामै, प्रजाहिता नाष्ति तत्र कोचित ।’ 
 

अर्थात् (बजेटमा धेरै योजनाहरु बाँडिनेमात्र घोषणा गरिन्छन्, तर तिनको कार्यान्वयन हुँदैन। राज्यकोष स्वार्थीहरूद्वारा भरिएको हुन्छ, जहाँ जनहित प्रतिबिम्वित हुँदैन) योजनाहरू बाँडिएर आए पनि तिनको कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको र सरकारले आफ्नो नीति कार्यक्रमविपरीत खर्च गर्ने प्रवृत्ति र वितरणमुखी बजेट ल्याएको भन्दै उनले असन्तुष्टि जनाए।

सोही पार्टीका अर्का सांसद अक्कलबहादुर रावलले बजेट लक्ष्यहीन र गन्तव्यहीन भएको भन्दै असन्तुष्टि जनाए। पूर्ववक्ता सदस्यहरूले गाएको गीतले आफूलाई पनि गीतमार्फत बजेटको समीक्षा गर्ने मन जागेको भन्दै उनले भने, 
‘तिमी फुल्यौ कतै, म फुले कतै, जहाँ फुले पनि सुगन्ध मिल्दोरहेछ।
‘तिमी रोयौ कतै, म रोए कतै, जहाँ रोए पनि आँशु त मिल्दोरहेछ।’

प्रदेशको समृद्धिको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एउटै ठाउँमा छौँ भन्ने आफ्नो धारणा रहेको बताउँदै उनले प्रस्तुत गीत भने सत्तापक्षलाई गाउन आग्रह गरे। 
‘तिमी हाँस्यौ कति, म हाँसे कति, 
हाँसो त कतै मिल्दोरहेछ ।’

गीत र संस्कृतका श्लोकमार्फत बजेटको समीक्षा भइरहँदा बैठकमा सहभागी मुख्यमन्त्री, मन्त्री र अन्य सांसदले चसोपूर्वक सुनिरहेका थिए। छलफलमा भाग लिने सत्तापक्ष नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रसिद्ध अर्थशास्त्री एडम स्मिथको सिद्धान्त स्मरण गराउँदै बजेटमा कताकता तालमेल नमिलेको जस्तो देखिए पनि कतिपय सकारात्मक पक्ष भएको बताए।

सत्तापक्ष नेपाली कांग्रेसकी सांसद ललिता सुनारले विषयभन्दा बाहिर गएर धारणा राख्दा सभामुख भीमबहादुर भण्डारीले विषय केन्द्रित हुन रुलिङ गरे। आजको छलफलमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि भाग लिएका थिए,। बजेटमाथिको छलफल जारी छ। प्रदेश सरकारले यही असार १ गते ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो।