Skip to main content

नोभा अस्पतालमा चौधरी मृत्युप्रकरण–२ दिनदेखि शव अस्पतालमै

Submitted by editor on
ईबिगुल संवाददाता
नसिव चौधरी

धनगढी : धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ का नसिव चौधरीको शव २ दिनदेखि अस्पतालमै रहेको छ । 

आफन्तहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाही र पिडित परिवारलाई क्षतीपूर्ती नदिदासम्म शव नउठाउने भनेपछि २ दिनदेखि शव नोभा अस्पतालकै आईसीयु कक्षमा राखिएको छ ।

पिडितका आफन्तहरु र अस्पताल प्रशासनबीच शनिबार पटक–पटक छलफल र वार्ता भएपनि समाचार तयार पार्दासम्म सहमति हुन सकेको छैन । अस्पताल स्रोतले पिडितका आफन्तहरुले २५ लाख रकम माग गरेको बताएको छ । त्यो रकममा अस्पताल प्रशासन तयार भएको छैन ।

जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि अन्तिम समयमा मात्रै रिफर गरेको उनको आरोप छ ।

अस्पतालका सूचना अधिकारी पदमराज भट्टले भने अस्पतालले युवकको उपचारमा कुनै कमि नगरेको तर उनको शरिरका सबै अंगहरुमा संक्रमण भईसकेकाले अवस्था जटील बनेको बताए ।