Skip to main content

नाकाको अनावश्यक चेकजाँचले पर्यटन क्षेत्र प्रभावित बन्यो : पूर्वमुख्यमन्त्री रावल

Submitted by editor on
ईबिगुल संवाददाता
राजेन्द्र सिंह रावल

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिमी सीमा नाकादेखि महेन्द्रनगरसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले ९ ठाउँमा गर्ने चेकजाँचले नागरिक र पर्यटकले सास्ती भोग्नु परेको बताएका छन् ।

होटल व्यवसायी संघको २७ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता रावलले एकीकृत सुरक्षा जाँचमा जोड दिए । 

‘जनपद र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा ९ ठाउँमा जाँच गर्छन् । राजश्व काट्ने काम भन्सारको हो । नाकामा जनपद र सशस्त्रले जाँच गर्न सक्छन्,’ उनले भने । ‘अनावश्यक दुःख दिने किसिमले ५ किलोमिटरको दूरीमै ९ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।’

अनावश्यक हुने जाँचले यहाँ आउने पर्यटकलाई पनि सास्ती हुने उनले बताए । नेपाली नागरिक किनमेलका लागि सीमावर्ती बजार बनबासा जाने गर्छन् । पश्चिमी नाका गड्डाचौकी भएर कतिपय पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । तर अनावश्यक हुने जाँचले उनीहरुले सास्ती भोग्नु परेको छ । यस विषयमा रावलले गृहमन्त्री रमेश लेखकको पनि ध्यानाकर्षण गराए । कसैलाई हैरानी, परेसानी दिने काम राम्रो नहुने उनको भनाइ छ ।

नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने उनले बताए । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकाँस वक्ताले अनावश्यक जाँचले सास्ती भोग्नुका साथै पर्यटन क्षेत्रमा राम्रो सन्देश नगएको बताए ।

होटल व्यवसाय र पर्यटन एकआपसमा जोडिएको विषय भएकाले एकीकृत ढंगले राज्यले नीति बनाएर विकासमा लाग्नु पर्नेमा सबैको जोड थियो । यस क्षेत्रको पर्यटन विकासका लागि टुरिज्म सर्किट बनाउनु पर्ने रावलले धारण राखे । 

नीतिमा बाँधिएर पर्यटनको विकास भए होटल व्यवसाय पनि फस्टाउने उनले बताए । ‘उत्तराखण्ड देवभूमि हो । सुदूरपश्चिम देवाटरी । नेपाल र भारत धार्मिक र सांस्कृतिक रुपमा जोडिएको छ’ रावलले भने । ‘देवभूमिका मान्छेलाई देवाटरीमा ल्याउन सर्किट बनाउन जरुरी छ ।’

पश्चिमी सीमा नाका गड्डाचौकीको सूचना केन्द्र धनगढी सारिएकोमा पनि रावलले आपत्ति जनाए । पश्चिमी सीमामा सूचना केन्द्र राखेर पर्यटकीय प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।  होटल व्यवसायी संघ कंचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संघका पहिलो अध्यक्ष गंगाराम गिरीलगायतलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।