Skip to main content

संसदको विषेश अधिवेशनमा विषेश समय– सरकारले विश्वास र नैतिकता दुुईटै गुमाएको आरोप

Submitted by editor on
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल भन्छन, ‘सोडारी नेतृत्वको सरकारलाई विश्वास र नैतिकता दुईटै गुमायो । बाढी पहिरोमा परेर प्रदेशका जनताको ज्यान गएको छ । उनीहरु विस्थापित भएर विद्यालयहरुमा बसिरहेका छन तर प्रदेश सरकारलाई कुनै मतलब छैन ।’
शिवराज भट्ट
 प्रदेश सभाको विषेश अधिवेशन

धनगढी : साउन ८ गते अढाई मिनेट मात्रै सञ्चालन भएर स्थगित भएको सुदूरपश्चिम  प्रदेश सभाको विषेश अधिवेशन आईतबार ५२ मिनेट चलेको छ । विषेश अधिवेशनमा चार दलका चार जना नेताहरुले विषेश समय लिएर बाढीपहिरोका मात्रै होईन, सरकारको कडा आलोचन समेत गरे ।

नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामीले अल्पमतमा परेको प्रदेश सरकारले बाढी पहिरोमा परि जनताको ज्यान जाँदा पनि एउटा विज्ञप्ती सम्म ननिकालेको आरोप लगाए । ‘प्रदेशमा बाढी पहिरो र प्राकृतिक प्रकोप भएको छ तर सरकारले प्रदेशका जनताका लागि एउटा विज्ञप्तीसम्म निकाल्न नसक्नु निरिहिताको पराकाष्टा हो’ धामीले भने ।

उनले असारमा आएको केही दिनको अविरल वर्षाले मात्रै सुदूरपश्चिमका धेरै जिल्लामा क्षती पुगाएकाले सरकारको ध्यान जानुपर्नेमा जोड दिए। उनले आफ्नो गृह जिल्ला दार्चुलामा धेरै जसो ग्रामीण सडकहरु अवरुद्ध भएको, खहरे खोलाहरुले स्थानीयलाई बस्न नसक्ने अवस्थामा पुगाएको भन्दै सरकारले त्यता पनि ध्यान दिनुपर्ने बताए ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सोडारी नेतृत्वको सरकारलाई विश्वास र नैतिकता गुमाएको सरकारको संज्ञा दिए । ‘बाढी पहिरोमा परेर प्रदेशका जनताको ज्यान गएको छ । उनीहरु विस्थापित भएर विद्यालयहरुमा बसिरहेका छन तर प्रदेश सरकारले विश्वास मात्रै होईन, जनतालाई उपेक्षा गरेर नैतिकता पनि गुमायो’ उनले भने ।

उनले कञ्चनपुरको पुर्नवास, बेल्डाडी, भीमदत्त नगर र दोधाराचाँदनीमा भएको बाढीको क्षतीको विवरण यथासक्य छिटो संकलन गरी जनताको दुखमा प्रदेश सरकार भएको अनुभूती दिलाउनुपर्ने बताए ।

विषेश समय लिएर नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिह ओलीले अहिले बजेटविहिनताको अवस्था भएको बताए । उनले सबै दलहरुमा राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए । 

नाउपाका प्रदेश सभा सदस्य धनश्याम चौधरीले कैलालीको भजनीमा वर्खाका बेला सुकुम्बासीहरुका टहरामा डोजर चलाउनु गलत कार्य भएको बताए । सरकारले अध्यादेश ल्याउनका लागि बजेट अधिवेशन अन्त्य गरेपछि, एक चौथाई प्रदेश सभा सदस्यहरुको अनुरोधमा प्रदेश प्रमुख नजिर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन बोलाएका थिए । 

उक्त दिन सदन चलेको जानकारी बाहेक कुनै पनि विषयमा छलफल हुन सकेको थिएन । ढाई मिनेट विषेश अधिवेशन चलेर स्थगित भएको थियो । संसदको अर्को बैठक भोली २ बजे बस्नेछ ।