धनगढीः सुदूरपश्चिम प्रदेशको तराईमा नल्का (चापाकर्ल)मा पानी सुक्न थालेको छ।
रोपाइँका लागि सबैतिर बोरिङमार्फत भूमिगत पानी तान्ने कार्य बढेपछि हाते नल्कामा पानी सुक्न थालेको हो।
प्रदेशको अस्थायी राजधानी धनगढीसहित विभिन्न पालिकाको धेरैजसो नल्कामा पानी आउनै छोडिसकेको स्थानीयले जनाएका छन्। असार लागेपछि अधिकांश नल्कामा पानी सुकेको धनगढी उपमहानगरपालिका–८ का विष्णुदेवी चौधरीले बताए। नल्काको पानी सुकेर नुहाउन, लत्ताकपडा, भाँडाकुँडा धुन समस्या भएको उनले बताए।
नल्का सुक्न थालेपछि खानेपानी सुविधा नपुगेका टोलहरुमा खानेपानीको समस्या हुन थालेको छ। धनगढीमा धेरैजसो स्थानीयले नल्काको पानी खाने गरेका छन्। नल्का सुकेपछि अन्यत्रबाट पानी ल्याएर खानुपरेको धनगढी उपमहानगरपालिका–८ कै निराजन गिरीले बताए। उनले सुगम क्षेत्रमा खानेपानीको समस्या हुन थालेको उल्लेख गरेका छन्।
नल्कामात्रै हैन, रोपाइँको बेला कतिपय बोरिङमा पनि पानी आउन छोडिसकेको जनाइएको छ। बोरिङ पनि सुक्न थालेपछि कृषकलाई रोपाइँ गर्न समस्या भएको छ। तराईमा भूमिगत पानीको सतह घट्दै गएकोले नल्का, बोरिङमा पानी नआउने समस्या बढ्न थालेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख गृष्म थापाले बताए। कैलाली र कञ्चनपुरमा यो समस्या बढिरहेको भन्दै उनले कैलारी गाउँपालिकामा झन् धेरै समस्या देखिएको बताएका छन्।
पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर भूमिगत पानीको स्रोत राम्रो रहेको मानिन्छ। तर, चुरे विनाश, जलवायु परिवर्तन, सिँचाइका लागि पनि भूमिगत पानीकै प्रयोगलगायतका कारणले भूमिगत पानीको सतह घटिरहेको जनाइएको छ। पहिले ३०–३५ मिटर गहिराइमै भूमिगत पानी राम्रो पाइन्थ्यो। तर, अचेल त्योभन्दा बढी गहिराइमा मात्रै भूमिगत पानी भेटिने गरेको जनाइएको छ।
भूमिगत पानीको सतह घटिरहेको र पानी रिचार्ज नभएका कारण सुक्खा यामको दुई/तीन महिना पानी सुक्ने गरेको प्रमुख थापाले बताए। पर्याप्त मात्रामा पानी परेमा भूमिगत पानी रिचार्ज भई पुनः नल्काहरूमा पानी राम्रोसँग आउने उनले बताएका छन्।