Skip to main content

५३ प्रदेशसभा सदस्य मध्ये सुदूरपश्चिममा २६ जना बने मन्त्री र मुख्यमन्त्री

Submitted by editor on
शिवराज भट्ट
२६ जना मुख्यमन्त्री र मन्त्री

धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१ जना प्रदेश सभा सदस्यमा अहिलेसम्म २६ जना मुख्यमन्त्री र मन्त्री भईसकेका छन । 

दोस्रो कार्यकालका लागि एमाले माओवादीको गठबन्धनमा एमालेका राजेन्द्र सिह रावल मुख्यमन्त्री भए तर संघमा बनेको समिकरण एक महिना पनि टिक्न नसकेपछि उनले विश्वासको मत पाएनन । संघमा सत्ता समिकण फेरिएसँगै रावल एक महिनामै सरकारबाट बर्हिगमन भए । उनले माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेकी उपमनेता सन्तोषकुमारी शर्मा थापालाई बिना विभागीय मन्त्री बनाउन बाहेक केही गर्न सकेनन ।

२०७९ पुसको २८ गते गठन भएको रावल नेतृत्वको सरकार एक महिनामै अथवा माघको २७ गते बहिर्गमन भयो । त्यसै दिन काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री बने । उनले माओवादी, समाजवादी र नागरिक उन्मुक्तिको साथ पाएका थिए । १४ महिनाको शाहको कार्यकालमा पनि ७ पटक मन्त्रीमण्डल फेरबदल भयो । 

बीचमा फेरि बनेको एमाले माओवादीको गठबन्धनका बेला उनले नागरिक उन्मुक्ति पार्टीका ७ जना मध्ये ५ जनालाई मन्त्री बनाएर आफु सत्तामा टिकिरहने प्रयास गरे तर नाउपाभीत्रको विभाजनले उनले बहुमत पुगाउन सकेनन । 

उनको बहिर्गमन भएसँगै एमाले, माओवादी, समाजवादी र नाउपाको रञ्जीता पक्ष र एक जना स्वतन्त्रको समर्थनमा २०८१ को बैशाख ६ गते समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री भए । सोडारीको कार्यकाल पनि सुखद रहेन । गठबन्धनमा सहभागि भएपनि एमालेको उनले राम्ररी साथ पाएनन । 

विश्वासको मत दिएपनि तीन महिनासम्म एमाले सरकारमा सहभागि हुन नपाएपछि सोडारीको सुरुवाती कार्यकाल अलमलमै रह्यो । झण्डै ४ महिनाको कार्यकालमा सोडारीले ६पटक मन्त्रीमण्डल हेरफेर र विस्तार गरे । उनी असार २० गतेदेखि अल्पमतमा छन । एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएपनि उनी अल्पमतमा परेका हुन ।

अल्पमतमा परेपनि उनले सरकार छोडेका छैनन । उनले अल्पमतमा परेको ३० दिन साउनको १८ गते पुग्छ । सोडारीले साउनको १८ गते विश्वासको मत लिने भएका छन । यद्यपी उनले विश्वासको मत पाउने सम्भावना भने छैन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख बाहेकका ५२ जनाले मत हाल्न पाउनेछन । 

अहिले काँग्रेसका १८, एमालेका ११, नाउपाको रेशम पक्षका ५ जना गरी ३४ जनाले नयाँ सरकार बनाउने तयारी गरेका छन । सोडारीले विश्वासको मत नपाउने वित्तिकै साउन १८ गते नै काँग्रेसबाट मुख्यमन्त्री  हुने सम्भावना देखिएको छ । काँग्रेस र एमालेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ ।