Skip to main content

डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु

Submitted by editor on
भरुवा बन्दुकसहित २ सिकारी पक्राउ
ईबिगुल संवाददाता
बन्दुक

डोटी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ । घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर ज्यान गएको हो ।

उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित गएराती नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका– ८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउद रहेका छन् ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार रामबहादुर साउदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको बताइएको छ ।