Skip to main content

सरकार बनाउने समय आईतबार बेलुकीसम्म, सुदूरपश्चिममा को बन्ला मुख्यमन्त्री ?

Submitted by editor on
शिवराज भट्ट
सरकार गठन

धनगढी : सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि चहलपहल बढेको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेपछि चहलपहल बढेको हो । 

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको चहलपहल सुरु भएको हो । शुक्रबार संसदलाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख नजिर मिया समक्ष राजीनामा बुुझाएका थिए । 

मुख्यमन्त्री सोडारीको राजीनामा आएपछि प्रदेश प्रमुख मियाले आईतबार ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन । मुख्यमन्त्री सोडारीले राजीनामा दिएकाले, प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन । संविधानको धारा १६८ को उपधारा २ मा दुुई वा दुुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउन पाउने प्रावधान छ ।

सुदूरपश्चिममा सरकारको नेतृत्व काँग्रेसले गर्ने र एमाले पनि सरकारमा जाने सहमति भएको छ । रेशम चौधरी पक्षको नाउपाले पनि सरकारमा सहभागि हुने जनाएको छ । सुदूरपश्चिममा काँग्रेसका १८, एमालेका  ११ र नाउपा रेशम पक्षका ५ जना प्रदेश सदस्य छन ।

यसअघिको सरकारलाई समर्थन गरेकाले एकजना स्वतन्त्र सांसद तारा प्रसाद जोशीले पनि सरकारलाई समर्थन गरे काँग्रेसले ३५ जनाको समर्थनमा सरकार बनाउनेछ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि चाहिने संख्या २७ हो ।

सरकारको नेतृत्व लिने भनिएको काँग्रेसभीत्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने टुंगो भने लागि सकेको छैन । काँग्रेसको एक पक्ष यसअघिका मुख्यमन्त्री कमल बहादुर शाहलाई नै मुख्यमन्त्री बनाउनुपर्नेमा लागि परेको छ भने अर्को पक्ष युवा नेता तथा पूर्व भौतिक पुवारका विकास मन्त्री प्रकाश देउवालाई मुख्यमन्त्री बनाउने भन्दै शक्तिकेन्द्र धाईरहेको छ । 

‘देउवालाई मुख्यमन्त्री बनाउन काँग्रेसका नेताहरुको डेलिगेशन नै गएको छ । पार्टी सभापति पनि सकारात्मक देखिनुभएको छ तर यसलाई बनाउने भनेर बोलिसक्नुभएको छैन’ काँग्रेसका एक नेताले भने । तर पार्टी सभापति देउवा भने परिवारकै सदस्यलाई मुख्यमन्त्री बनायो भनेर आलोचना हुने चिन्तामा देखिएका छन ।

स्रोत भन्छ ‘अहिले शाहलाई नै दिएर केही महिनापछि देउवालाई बनाउने सहमति हुनसक्छ ।’ काँग्रेसबाट सिनियर नेता बहादुर सिह थापा पनि मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन । निर्वाचन लगत्तै थापा पनि मुख्यमन्त्रीका जवरजस्त दाबेदार थिए, तर पार्टी सभापतिले दोस्रो पटकमा बनाउने भनेपछि उनी चुप बसेका थिए । अहिले थापा पनि मुख्यमन्त्रीका लागि शक्तिकेन्द्र धाईरहेका छन । 

मुख्यमन्त्रीका दाबेदार थापा र देउवा शनिबारसम्म संघीय राजधानीमै छन । शाह भने पार्टी सभापति देउवालाई भेटेर धनगढी फर्किसकेका छन । काँग्रेसका सभापति देउवाले आईतबार मात्रै मुख्यमन्त्रीको टुंगो लगाउने सम्भावना देखिएको छ । 

‘पार्टी सभापति ज्युसँग मेरो आज पनि फोन भएको थियो, अझै २ दिन छ नी भन्नुभयो । भोलीसम्म सभापति ज्युको निर्णय आउला । अहिले नै कसैलाई बचन दिईसक्नुभएको छैन’ काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने ।