Skip to main content

जब बाउले नै नाबालक सन्तानलाई भाँडोमा हालेर उमाल्छन ...

Submitted by editor on
ईबिगुल संवाददाता
चरम यातना

ओखलढुंगा : बुवा प्रेमको प्रतिमुर्ती हुन । छोराछोरीप्रति बुवाको प्रेम अथाह हुन्छ तर एकजना बुवाले आफ्ना नाबालक दुई सन्तानलाई चरम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । 

घटना हो ओखलढुंगाको । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ का ४३ वर्षिय फुरिञ्जी शेर्पाले छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

शेर्पाले आफ्नै ४ र ६ वर्षिय छोरालाई चरम यातना दिने भिडियोहरु नै सार्वजनिक भएका छन । गाउँ देखि एकान्तमा घर भएका शेर्पाले लामो समयदेखि छोराहरुलाई यातना दिने गरेको रहस्य बाहिरिएको हो ।

शेर्पाले छोराहरुलाई कुटपिट गर्नुका साथै खर्कुडोमा हाली पानी सँगै उमाल्ने, डोरीले बाँधेर उधो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । 
शेर्पाकी श्रीमती रोजगारीका लागि साईप्रस भन्ने देशमा छिन् । नेपालमा हुँदा आफुलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताईन् ।

आफुलाई रिस देखाउन छोराहरुलाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साईप्रसबाट शेर्पाले बताएकी छन् ।

शेर्पाले श्रीमान विरुद्ध कडा कारबाहिको माग गरेकी छिन् । शेर्पाका चार सन्तान मध्ये करिब नौ वर्ष देखि एउटा बच्चा वेपत्ता रहेको स्थानियले बताएका छन् ।
शेर्पाले छोराहरुलाई चरम यातना दिएको वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पुष्टि गरेका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाईएको र छोराहरुको उद्धार गरि स्वास्थ्य परिक्षण गराइएको वडा अध्यक्ष शेर्पाले जानकारी दिएका छन ।   

आफ्नै सन्तानलाई चरम यातना दिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।  घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।