Skip to main content

लगातारको वर्षाका कारण बझाङका सडकहरुको बेहाल, यात्रुहरु जोखिमपूर्ण यात्रागर्न बाध्य

Submitted by editor on
प्रताप ओली
बझाङ

बझाङ : मनसुन भित्रिएयता बझाङको लाइफ लाइनको रुपमा लिइएको जयपृथ्वी राजमार्ग प्रायः दैनिक रुपमा अवरुद्ध हुँदै आएको छ । जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा १ जालेबगर, बित्थडचिरको देउलेख आसपास र बैतडीका विभिन्न ठाउँमा पहिरो खसिरहन्छ । 

सडकको दुरावस्था र पहिरोको जोखिमका कारण रात्रिकालिन यात्रा निकै डरलाग्दो हुने गरेको यात्रुहरुले बताएका छन । गाडी चल्दाचल्दै पहिरो खसेको भिडियो भाइरल बनेको जयपृथ्वी राजमार्गमा दिउँसो पनि ढुक्क भएर यात्रा गर्न सकिने अवस्था नरहेको यातायात व्यवसायी जगदिश बोहरो बताए ।

काठमाडौंबाट बझाङ र बझाङबाट काठमाडौं बस सञ्चालन गरिहनुभएका उनले कैयौं पटक सडकका कारण बाटोमा धोका पाएको अनुभव सुनाए । खप्तड यातायात प्रालिका बझाङ काउन्टर प्रमुख नवराज उपाध्यायले पनि सडकको दुरावस्थाका कारण गाडी बिग्रीने र दुर्घटनाको जोखिम निम्तिएको बताए । 

छबिसपाथिभेरा गाउँपालिका –१ जालेबगरमा पानी पर्नासाथ गेग्रान बहाब हुने हुँदा बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । प्रायः जसो सडक अवरुद्ध हुँदा सडक डिभिजन कार्यालय र सम्बन्धित स्थानीय तहलाई सम्पर्कमा ल्याउन समेत कठिन हुने गरेको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताए ।

आफूहरुलाई जानकारी हुनासाथ सडक सूचारु गर्न पहल गर्ने गरेको तर टेलिफोन नलाग्ने, जेसीबी, ब्लुडोजर लगायतका साधनमा इन्धन नहुने र टाढा हुने गरेका कारण सडक सञ्चालनमा ल्याउन निकै कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कुँइकेलले बताए । 

लगातारको बर्सातका कारण चैनपुर–ताक्लाकोट सडक खण्ड अन्तर्गत कपडे नजिक, भाँडेबगर–ब्याँसी सडक खण्ड अन्तर्गत शान्ती मावि चौघानपाटा विद्यालयको मुनी पट्टी, बाग्थला–बिजगडा सडक खण्डको बाग्थलाभन्दा एक किलोमिटर अगाडी, डुङ्ग्री मष्टा सडक खण्डको ठाउँठाउँमा, तमैल खप्तडछान्ना सडक खण्डको ठाउँठाउँमा ठूलाठूला पहिरो र खोला बढेकाले आवागमन ठप्प भएको छ ।

यस्तै बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन अन्तर्गत खोडपेदेखि चैनपुरबीचको फाइबर श्रीभावरमा ब्रेक हुँदा सेवा आंशिक रुपमा प्रभावित भएको हो । पानी परेर विद्युत पोल ढल्दा फाइबर ब्रेक भएको हुनसक्ने नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ ।