Skip to main content

बाजुरामा बडिमालिका र बुढीनन्दा तीर्थयात्रा आरम्भ, सरकारी टोली प्रस्थान

Submitted by editor on
ईबिगुल संवाददाता
बडीमालिका

बाजुरा : धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि  धार्मिक तीर्थयात्रा सुरु भएको छ । 

दुबै शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौको संख्यामा तीर्थयात्राहरु केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहीबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले बताएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका पठाएको छ । 

नगर उप–प्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थात गरेको हो । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहीत बडीमालिका यात्रा जाने गरेको थियो । 

बाजाजागा सहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाहरुले सरकारी टोलीको विदाई गरेका हुन् । मार्तडी स्थित मालिका मन्दिरमा पुगेर विदाई गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । नगर प्रमुख खड्का सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहितको टोलीले विदाई गरेको हो ।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरी प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई औपचारिक रुपमा विदाई गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । 

बाजुराका बडीमालिका र बुढीनन्दालाई धार्मीक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक, जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ली, सम्भुसुनन्दा, जुल्ठ्या सहीतका दर्जनबढी धार्मीक शक्तिकेन्द्रमा पनि एकसाथ पुजा लाग्ने गरेको छ । 
मानेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ  धार्मिक शक्ति केन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । 

दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्ला सहित देशभरिबाट भक्तजनक आउने गरेका छन् भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् । 

सत्ययुगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मीक विश्वासका आधारमा पुजापाठ गर्ने गरिएको छ । 

बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको छ । धार्मीक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालेको भएपनि बडीमालिका र बुढीनन्दा बढी चर्चा र विख्यात रुपमा चिनिएको बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।  

बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायको भनाई रहेको छ ।

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगीसकेको छ । बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनुपर्ने चलन रहेको छ । 

बडीमालिका क्षेत्रको धार्मिक, सांस्कृतिक संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गरिएको छ। ‘बडीमालिका मन्दिर’ चार हजार २१६ मिटर उचाइमा रहेको छ । बडीमालिका पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । विभिन्न जिल्लाबाट हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन् ।
धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन् । बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ ।

बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ले, भण्डारथुम, शम्भुसुनन्दा, जुल्ठ्या सहितका दर्जन बढी धार्मिक शक्तिकेन्द्रमा पनि एकसाथ  पूजा लाग्ने गरेको छ ।