Skip to main content

मोहना र सहायक नदी खतराभन्दा माथि, तल्लोतटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह

Submitted by editor on
ईबिगुल संवाददाता
मोहना

धनगढी : कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ । प्रशासनले तल्लो तटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह गरेको छ । 

गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । धनगढी बजार छिचोलेर बग्ने कैलाली खोला र सुकटी नालाको पनि जल सतह बढेको छ ।