Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारका सबै वेवसाईटहरु तेस्रो पटक ह्याक

Submitted by editor on
आर्थिक मामिला मन्त्रालयको वेवसाईटको अलग्गै होस्ट भएकाले त्यो मात्र चलिरहेको छ । एक हप्तासम्म वेवसाईट नबन्नु प्रदेश सरकारको लाचारीपन भएको अरोप लागेको छ ।
शिवराज भट्ट
प्रदेश

धनगढी : आर्थिक मामिला मन्त्रालय बाहेक सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्रालयहरुको वेवसाईट ह्वाक भएको छ । छोटो समयमा प्रदेश सरकारका मन्त्रालयहरुको वेवसाईट ह्याक भएको यो तेस्रो पटक हो ।

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहितका ६ वटा मन्त्रालयको वेवसाईट ह्याक भएको हो । ‘६÷७ दिन भयो, वेवसाईट चलिरहेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्राविधिकहरुसँग कुराकानी भईरहेको छ’ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रशासन सचिव बेदप्रसाद भण्डारीले भने ।

वेवसाईट खोल्दा जिल्ला प्रशासन कैलालीको पेज देखाईरहेको छ । मन्त्रालयको साईट खुलिरहेको छैन भने जिल्ला प्रशासन कैलाली र अरु जिल्ला प्रशासनहरुको पेज खुलिरहेको छ । प्रदेशका जनताका लागि अति आवश्यक रहेको वेवसाईटहरु नचलेपछि यसको विश्वसनीयतामा प्रश्न चिन्ह उत्पन्न भएको छ । 

आर्थिक मामिला मन्त्रालयको वेवसाईटको अलग्गै होस्ट भएकाले त्यो मात्र चलिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रशासन सचिव बेदप्रसाद भण्डारीले आर्थिक मामिला मन्त्रालय बाहेकका ६ वटा मन्त्रालयका वेवसाईटहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राललयको प्रदेश तथा स्थानीय तह सहयोग शासनले बनाएको बताए ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राललयभीत्र, प्रदेश तथा स्थानीय तह सहयोग शासन भन्ने छुट्टै युनीट छ । त्यसले प्रदेश र स्थानीय तहहरुको सवलिकरणको कार्य गर्दछ । हाम्रा वेवसाईटहरु पनि सोही युनीटले बनाएको हो । हामी निरन्टतर सम्पर्कमा छौं’ सचिव भण्डारीले भने । ‘मानवशरिरको रक्तसञ्चार जस्तै हो वेवसाईट भनेको, हामीलाई पनि नराम्रो लागि रहेको छ, तर बनाउने प्रयास भईरहेको छ’ सचिव भण्डारीले भने ।

तर उनले यसपटक वेवसाईट ह्याक नभएर सर्भरमा समस्या आएको बताए । प्रदेश सरकारको वेवसाईट एक हप्तासम्म पनि नबन्नु लापरवाहीको पराकाष्टा भएको स्थानीयले आरोप लगाएका छन ।