धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले पुरुस्कृत र सम्मानित गरेको छ ।
उपमहानगरपालिकाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले उनलाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरे भने उनलाई कदरपत्र दिएर सम्मानित गरे ।
सम्मान कार्यक्रममा बोल्दै हमालले सुदूरपश्चिममा दलित परिवारबाट संस्कृतमा आचार्य गरेर सनातन हिन्दु धर्मको पक्षमा लागेको भन्दै दमाईको प्रसंसा गरे । ‘सुदूरपश्चिममा अभावै अभाव छ, कुरितीहरु मात्रै छ, यो प्रदेश छाउपडि र देउकी प्रथाको प्रदेशको हो भन्ने मानसिकता परिवर्तन भईरहेको महसुस भएको छ’ मेयर हमालले भने ।
कृष्णको संस्कृतको आचार्य उपाधी, आफुले सुरुवात गरेको सुन्दर सुदूरपश्चिम अभियानको एक कडिका रुपमा लिएको मेयर हमालले बताए । ‘सुदूरपश्चिम सुन्दर छ भन्ने अभियानको यो एक सफलता हो । मैले त्यसरी बुझेको छ’ उनले भने ।
मेयर हमालले आचार्य कृष्णले धनगढी उपमहानगरभीत्र पछाडि पारिएका सनातनीहरुलाई शास्त्रीय ज्ञान दिन ईच्छुक भए उनलाई जागिर दिन पनि धनगढी नगरकार्यपालिका तयार रहेको बताए । आचार्य कृष्णलाई बाजागाजासहित नगर सभा हलमा लगिएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।
सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले स्थानीय तहहरुमा सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।