Skip to main content

कैलालीको गौरीगंगामा सर्पले डसेर दिदीबहिनीको मृत्यु, हजुरआमा घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
दिदिबहिनीको मृत्यु

धनगढी : कैलालीमा सर्पले डसेर दिदिबहिनीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

४ वर्षीया काजल र ७ वर्षीया नीता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।