Skip to main content

प्रचण्ड सहित माओवादीका अधिकांस पदाधीकारी सुदूरपश्चिम आउदै

Submitted by editor on
बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी हुने
ईबिगुल संवाददाता
पुष्पकमल दाहाल

धनगढी :  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन बुधबार धनगढी आउने भएका छन ।

प्रचण्ड पार्टीका अन्य नेताहरु सहित बुधबार बिहान नियमित उडानबाट धनगढी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । 

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक बुधबार बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनक बहादुर बुढाले जानकारी दिए । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

पार्टीलाई कसरी मजबुद बनाउने भन्नेबारे नेताहरुको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरुको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरु तय गरेको छ । 

‘पार्टीमा देखिएका समस्या, समाधानका उपाय तथा पार्टीलाई कसरी मजबुद बनाएर लैजाने भनेर प्रदेशका नेताहरुको राय, सुझाव संकलन गर्न लागिएको हो’ सचिव बुढाले भने । ‘पार्टी निर्माणबारे नेताहरुको धारणा बुझ्न सबै प्रदेशमा हाम्रो पार्टीले अहिले कार्यक्रहरु गरिरहेको छ ।’ 

सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।