Skip to main content

गौरा विर्सजनका लागि परराष्ट्रमन्त्री देउवा धनगढीमा, कार्यकर्ताद्वारा भब्य स्वागत

Submitted by editor on
ईबिगुल संवाददाता
आरजु राणा देउवा

धनगढी : परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृहनगर धनगढी आएकी आरजु राणा देउवालाई कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन । बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरुको ठुलो भीड लागेको थियो ।

काँग्रेस एमालेको गठबन्धनको सरकारमा शक्तिशाली मन्त्री बनेपछि उनको धनगढीमा भब्य स्वागत गरिएको हो । धनगढी विमानस्थल पुगेका नेता कार्यकर्ताहरुलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

मोटरसाईकल र कारमा पुगेका कार्यकर्ताहरुले नाराबाजी गर्दै परराष्ट्रमन्त्री देउवालाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म ¥याली गरेर पुगाएका थिए । 

मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन । आरजुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउदै आएकी छन । विमानस्थलबाट आफ्नो निवास पुुगेकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरि गौरा विसर्जन गरेकी छिन ।

पञ्चमीदेखि सुदूरपश्चिमका हरेक घरमा विरुडा भिजाएर गौराको औपचारिक सुरुवात गरिन्छ । विरुडा भिजाउने र धुने कार्य उनका आफन्तहरुले गरेपनि विसर्जनका लागि भने देउवा आफै आएकी हुन । 

मन्त्री राणाले गौराको पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गौरा पर्वले सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गरेको बताइन् । ‘गौरामा परम्परागत गीत खेल्दा या देउडा खेल्दा एक आपसमा हात जोडेर खेलिने हुँदा त्यसले नै सामाजिक एकतालाई जोडेको आभास गराउँछ’ उनले भनिन ।

उनी हरेक वर्ष गौरा मनाउन धनगढी स्थित घरमा आउने गरेकी छन । ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएकी हुँ’ देउवाले भनिन ।

२०७४ सालको निर्वाचनमा उनलाई पर्यटक उमेदवारको आरोप लागेपछि उनले अहिलेका धनगढीका मेयर गोपाल हमालको घर किनेकी थिईन । त्यसपछि देउवा हरेक वर्ष गौराको अवसरमा धनगढी आउने गर्छिन ।

शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले भनिन्, ‘कार्य व्यस्तताका कारण यसपटक गौरा मनाउन ढिलो गरी धनगढी पुगेँ ।’ शनिबार देउवाको निवासको गेटमा बम फेला परेको थियो । त्यसैले बुधबार उनलाई कडा सुरक्षाकाबीच धनगढी ल्याइएको थियो ।

आरजुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, एसपी पदम बहादुर विष्ट सहितका सुरक्षाअधिकारी विमानस्थलनै पुगेका थिए ।