Skip to main content

धनगढीमा युवतीको कोठामै हत्याः मृतक खानेपानी संस्थानकी कर्मचारी भएको खुलासा

Submitted by editor on
ईबिगुल संवाददाता
खानेपानी संस्थान

धनगढी : धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा ३० वर्षीया एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।

मृतक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी रेणु चौधरी रहेको खुलासा भएको छ। उनी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी पदमा कार्यरत थिइन्।चौधरी असार ५गते बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तरसम्बन्धी तालिममा सहभागी भएकी थिइन्।

शुक्रबार कार्यालयमा उपस्थित हुनुपर्ने भए पनि उनी सम्पर्कविहीन थिइन्। त्यसयता संस्थाका सहकर्मी र परिवारजनसँग उनको सम्पर्क हुन सकेको थिएन।शवबाट दुर्गन्ध आउन थालेपछि घरधनीले झ्यालबाट हेर्दा उनी कोठामा मृत अवस्थामा फेला परेकी हुन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार चौधरीको घाँटीमा धारिलो हतियार प्रयोग गरिएको छ भने कन्चटमा पनि चोट देखिएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार उनको केही दिनअघि नै हत्या गरिएको हो।प्रहरीका अनुसार मृतक चौधरी विगत दुई महिनादेखि एक युवकसँगै उक्त कोठामा बस्दै आएकी थिइन्।

तर हालसम्म ती युवकको परिचय खुल्न सकेको छैन र उनी फरार रहेका छन्। प्रहरीले घटनास्थल सिल गरी तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिएको छ। प्रारम्भिक अवस्था हेर्दा चौधरीको कोठामै हत्या गरेर कोठा बाहिरबाट ताल्चा लगाई फरार भएको देखिएको प्रहरीको भनाइ छ।