Skip to main content

बैतडीमा विषयगत शिक्षकको मागगर्दै विद्यालयमा तालाबन्दी

Submitted by editor on
कृष्ण बिष्ट
तालाबन्दी

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं ८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । निम्न माध्यामिक तहका नेपाली अध्यापन गराउने शिक्षकको मागगर्दै तालाबन्दी गरिएको हो । 

यसअघि उक्त विद्यालयमा दरबन्दी कायम भएका निम्न माध्यामिक तह नेपाली विषयका शिक्षक देव सिंह धामीको काजमा सरुवा गरिएपछि निम्न माध्यामिक तहमा नेपाली विषयका शिक्षक छैनन् । 

लेक लुपुण माविमा दरबन्दी कायम भएका निमाविका नेपाली शिक्षक देव सिंह धामीको २०७८ फागुनमा सिगास–२ स्थित रण आधारभूत विद्यालयमा काज सरुवा गरिएको थियो । त्यसयता नेपाली विषयको अर्काे शिक्षकको व्यवस्थापन हुन सकेको छैन ।  

नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने मागगर्दै दोश्रो पटक आइतबार तालाबन्दी गरिएको विद्यालयका प्रद्यानाध्यापक हर्क बहादुर धामीले जानकारी दिए । नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने विद्यार्थीहरुको माग छ । यही विषयमा यसअघि यही भाद्र ५ गते पनि तालाबन्दी गरिएको थियो ।

पहिलो पटक तालाबन्दी गरिएको दिन आगामी विद्यालय ब्यवस्थापन समितिको भेलामा यस विषयमा छलफल गर्ने सहमती जुटेपछि सोही दिन ताला खोलिएको थियो । भाद्र ९ गते विद्यालय व्यवस्थापन समितिको बैठकबाट काजफिर्ता गर्न मागगर्दै पालिकालाई पत्र पठाएको थियो । 

सोही दिन गाउँपालिकाको कार्यपालिका बैठक बसेर काजमा सरुवा गरिएका शिक्षक देव सिंह धामीलाई दरबन्दी कायम भएको लेक लुपुण माविमा एक हप्ताभित्र हाजिर हुन भन्दै पत्र काटेको थियो । तर १५ गतेसम्म पनि शिक्षक हाजिर नभएपछि, १६ गते आइतबार विद्यार्थीहरुले तालाबदी गरेका हुन् । 

लेक लुपण माविबाट आफुलाई गलत्याएर  मनपरी ढंगले काजमा सरुवा गरेकाले आफु उक्त विद्यालयमा फेरी जान नसक्ने शिक्षक देव सिंह धामी बताएका छन् । २०६१ सालदेखि लेक लुपण माविमा हाजिर भएका धामीले २०६८ सालदेखि प्रद्यानाध्यापकको जिम्मेवारीमा रहेका थिए । 
त्यसपछि २०७८ माघ महिनामा प्रद्यानाध्यापकको जिम्मेवारी छाडेका थिए । त्यसको एक महिनापछि २०७८ फागुनमा उनलाई काजमा रण आधारभूत विद्यालयमा पठाइएको थियो । 

अनिवार्य अवकास पाउन २ वर्ष मात्रै बाँकी रहेको र यसअघि पनि अपमानित तवरले हटाएको हुनाले पुनः सोही विद्यालयमा जान नसकिने शिक्षक धामीले बताए ।

लेक लुपुण माविमा निम्न माध्यामिक तहका नेपाली विषयका शिक्षक छैनन् । माध्यामिक तहका नेपाली शिक्षक भएपनि कक्षा ९ देखि १२ सम्मका माथिल्लो कक्षामा पढाउने गरेकाले निमावि तहमा नेपाली विषयमा पठन पाठनमा समस्या हुने गरेको विद्यालयले जनाएको छ ।